गैरमधेशीलाई खातमाथि खात, मधेशीको पुर्परोमा हात
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ देखि १४ सम्म सम्पन्न बैठकले राष्ट्रिय सभाका उम्मेदवारका हकमा हालसम्म कुनै अवसर नपाएका वा विभिन्न कारणले वञ्चित योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने निर्णय गर्यो ।
निर्णयको मसी नओभाउँदै कांग्रेसले बारम्बार अवसर पाएर थाकिसकेका आनन्दप्रसाद ढुंगानालाई मधेश प्रदेशबाट उम्मेदवार बनाएको छ । जबकि कांग्रेसले सधैँ मधेशलाई नै आफ्नो आधारभूमि बताउने गरेको छ । ढुंगानाको एकपछि अर्को फड्को हेर्दा शहीद परिवारका सदस्यलाई गिज्याइरहेको प्रतित हुन्छ । सधैं संस्थापनको अडेस लागेर लाभ लिइरहने भाग्यमानीमा गनिन्छन् उनी ।
यतिबेला कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा समेत मधेशी अनुहारको खडेरी छ । खुला मधेशको कोटामा कांग्रेसको केन्द्रीय सदस्य समेत अरु समुदायका व्यक्तिले पद ओगटेका छन् ।
ढुंगाना २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा धनुषा– ३ बाट निर्वाचित पात्र हुन् । २०६४ को संविधानसभा निर्वाचनमा पनि धनुषा– ७ बाट कांग्रेसले टिकट दियो । त्यो चुनावमा हार व्यहोर्नुपर्यो । २०७० को संविधान सभा निर्वाचनमा हार्ने डरले समानुपातिकतर्फ सभासद् बने । ०७४ सालमा धनुषा– १ बाट उठे र पराजित भए । बारम्बार हारे पनि उम्मेदवारी मोह रोकिएन । पुनः २०७९ को निर्वाचनमा समानुपातिकको बन्दसूचीतर्फ नाम राखियो । यसपल्ट पनि निर्वाचित हुन सकेनन् । २०७० र २०७९ को निर्वाचनमा ढुंगाना ‘खस आर्य’ समूहबाट थिए ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ०५५ वैशाखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । त्यही वर्षको भदौमा मन्त्रिमण्डल पुनर्गठन हुँदा वन तथा भू–संरक्षणमन्त्री भए । त्यसपछि सामान्य प्रशासन मन्त्री खाए ।
कांग्रेसको बाह्रौं महाधिवेशनमा जनकपुरबाट प्रतिनिधि निर्वाचित भएका थिए । तेह्रौं र चौधौं महाधिवेशनमा समेत मधेश प्रदेशबाटै समेत आए । नेपाली कांग्रेस संगठन विभाग प्रमुख बने । हाल अनुशासन समिति संयोजक रहेका उनी फेरि पनि मधेश प्रदेशबाटै टिकट पाएर राष्ट्रिय सभा सदस्य बन्ने निश्चितप्रायः छ ।
यसैबीच, राष्ट्रिय सभामा मधेशबाट उठाइएका ढुंगानाविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा गम्भीर प्रकृतिको उजुरी परेको छ । उनकै गृहजिल्ला धनुषा– १ का महासमिति सदस्य भोला पञ्जियारले अघिल्लो राष्ट्रिय सभाको निर्वाचनमा भोट खरिद गर्नका लागि २० लाख रूपैयाँ लिएको गम्भीर आरोप लगाएका छन् । पञ्जियार अघिल्लो चुनावमा मधेशबाट कांग्रेसका उम्मेदवार थिए । उनले गत पुस २० गते पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘त्यति बेलाको चुनावमा भोट किन्नुपर्छ भनेर आदरणीय नेता आनन्दप्रसाद ढुंगानाज्यूलाई मैले १० लाख र नगिना यादवले १० लाख गरी २० लाख रूपैयाँ जम्मा गर्यौं, भोट किन्न नसके वापस गर्छु भन्ने कुरा भएका थिए । तर भोट किन्न सक्नुभएन र अहिलेसम्म मेरो १० लाख रूपैयाँ पनि फिर्ता गरिएको छैन ।’
टिप्पणीहरू