आगामी वर्षको बजेटमा ’ब्रेक थ्रु’ गर्ने प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम र बजेटको परम्परागत शैली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । राज्यका विद्यमान समस्या र चुनौती हल गर्न समग्र बजेट प्रणालीमै सुधार गरेर जानुपर्ने उहाँको धारणा छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले पूराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण पनि गराउनुभयो ।
‘विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ । बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र बिनियोजित बजेट पनि फ्रिज जाने बिडम्वना छ । त्यसबाट हामी माथि उठ्नैपर्छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले यसपटकको बजेट कनिका छरेजस्तो नहुने प्रष्ट पार्दै विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाइने पनि बताउनुभएको छ ।
‘अर्थतन्त्रका संकेतहरू सकारात्मक छन् । तर, हाम्रो अर्थतन्त्र दबाबमुक्त भइसकेको छैन । विकास निर्माणका काममा थुप्रै बेथिति छन् । यसपटक परम्परागत सोच र ढाँचाबाट माथि उठौँ । सबैलाई खुशी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ । यसपटक ब्रेक–थ्रु गर्नैपर्छ,’ उहाँले भन्नुभयो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्करलगायत अर्थ मन्त्रालयका विभागीय प्रमुखहरूको उपस्थिति थियो ।
टिप्पणीहरू