जिबी राईको अर्को सहकारीमा सिआइबी पस्यो

जिबी राईको अर्को सहकारीमा सिआइबी पस्यो
सुन्नुहोस्

देशभर सहकारीको नेटवर्क खडा गरी बचतकर्ताको अर्बौं रकम हिनामिना गरेर बेपत्ता भएका गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जिबी राई र उनको समूहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानविन थाल्ने भएको छ । 

देशका विभिन्न शहरमा सहकारी खोलेर आफैं अध्यक्ष रहेको संस्थामा गैरकानुनी ऋण प्रवाह गराएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि बेपत्ता रहेका राई र उनको समूहको एकपछि अर्को ठगी धन्दा खुल्न थालेसङ्गै संगठित अपराधअन्तर्गत सिआइबीले अनुसन्धान अघि बढाउन लाग्र हो । थुप्रै सहकारी ठगी गरेको देखिएपछि सहकारी विभागको अनुरोधमा अनुसन्धान अघि बढाएको सिआइबीले जनाएको छ । 

सहकारी विभागमा परेका उजुरी हेर्दा राईको समूहले काठमाडौँ उपत्यका र देशका मुख्य शहरहरुमा दर्जन बढी सहकारी खोलेको देखिन्छ । त्यसमध्ये पोखराको सूर्यदर्शन,वीरगञ्जको सानो पाइला, नेपालगञ्जको समानता, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारीबाट ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्कका नाममा सहकारी ऐन मिचेर ५२ करोड ऋण लगानी गरेको सार्वजनिक भैसकेको छ । 

सहकारी संस्थाको कार्यक्षेत्र र कारोबार रकमका आधारमा तीनै तहका सरकारले नियमन गर्ने प्रवन्ध रहेकाले उपत्यका बाहिरका सहकारीको सम्बन्धमा सम्बन्धित स्थानीय तहले नै अनुसन्धान गरिरहेका छन् ।  सहकारी संस्थामा कुनै समस्या आए निक्षेपकर्ताले तत्काल स्थानीय तह वडा, गाउँपालिका, नगरपालिकामा उजुरी गर्न सक्ने व्यवस्थाका कारण काठमाडौँ उपत्यका बाहिर रहेका सहकारीहरुमा भएको ठगीबारे सम्बन्धित स्थानीय तहले छानविनको प्रक्रियामा लागिसकेको छ।  

संघीय सरकारको नियमनभित्र पर्ने काठमाडौँको हाम्रो कृषि सहकारीलगायतका सहकारी संस्थाले गरेको बदमासीको भने सहकारी विभागले आवश्यक छानविन गरी थप अनुसन्धानका लागि फाइल सिआइबीमा पठाएको हो । 

हजारौँ सर्वसाधारणले खाई-नखाई जम्मा गरेको त्यति धेरै रकम अपचलन भएको यस काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । उनी टेलिभिजनमा प्रवन्ध निर्देशक रहेका बखत उक्त ऋण लिएको देखिएकाले राजनीतिक मोलमोलाई नभए उनी पनि अनुसन्धानमा तानिने निश्चित छ । यद्यपि लामिछानेले दुई वर्षअघि नै आफूले ग्यालेक्सी टेलिभिजन छोडिसकेकाले यसमा जिम्मेवार नरहने तर्क गर्दै आएका छन् ।
 

टिप्पणीहरू