‘बेष्ट ब्रेन’ केन्द्रित गरेर ‘ब्रेक थ्रु’ गरिनेछ " : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउन वुद्धिजीवीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवुद्ध व्यक्तिहरुसँगको छलफलमा उहाँले सो धारणा राख्नुभएको हो । देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’हरु केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहिआएको प्रधानमन्त्रीको भनाई छ । त्यहि मान्यताका आधारमा विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको केन्द्र बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको उल्लेख गर्दै उहाँले जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले बौद्धिक समुदायले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकको निर्माण गर्ने जिम्मा सरकार, राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको पनि भएकाले वौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा प्रधानमन्त्रीले राख्नुभयो । उहाँले देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औल्याउँदै यसका लागि सबैले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
छलफलमा डा.केदारभक्त माथेमा, डा.पिताम्बर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनाललगायत सहभागी थिए । उनीहरुले विश्वविद्यालयमा भागबण्डा नगर्ने र मेरिटोक्रेसीबाट उपकूलपति छान्ने प्रक्रिया सरकारले अघि बढाएकाले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरुको पुनर्संरचनाको निम्ति सुधार थाल्न आग्रह गरे । त्यसक्रममा प्रधानमन्त्रीसमक्ष विभिन्न विषयमा सुझावसमेत प्रस्ताव गरिएको थियो ।
टिप्पणीहरू