जनताका कुरा सुन्न गाउँ जाँदै कांग्रेस
नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पर्सि शनिबारदेखि माघ २६ गतेसम्म ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ भन्ने नारासहित अभियान सञ्चालन गर्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासो सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने जनाइएको छ ।
त्यस्तै, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियानको रहेको छ ।
मुख्य सचिव पौडेलका अनुसार अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् । केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्म सबै वडामा प्रतिनिधि खटिने उनको भनाइ छ ।
वडा केन्द्रीत रहने यो अभियानमा केन्द्रीय पदाधिकारीहरु विभिन्न स्थानमा सहभागी हुने बताइएको छ । जनताका कुरा सुन्ने अभियान भएकोले औपचारिक आसन ग्रहण र मन्तव्यलगायतका कार्यक्रम नहुने कांग्रेसले जनाएको छ ।
अभियानकै क्रममा माघ १६ गते शहीद दिवसको अवसरमा छ हजार सात सय ४३ वटा वडामा कार्यक्रम गरिने कार्यतालिका पनि छ । त्यस्तै, अभियानको अन्तिम दिन माघ २६ गते सुशील कोइरालाको स्मृति दिवससँगै कार्यक्रम समापन हुनेछ ।
टिप्पणीहरू