कोइरालाको हर्कतले काँग्रेस कार्यकर्ता आजित

कोइरालाको हर्कतले काँग्रेस कार्यकर्ता आजित

झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले एमालेसँग घाँटी जोडेपछि आन्तरिक अन्तरकलह चर्किएको छ । 

वडा नम्बर २ का वडाध्यक्ष एवम् नगरको आर्थिक समिति संयोजक गोपाल कोइरालाले कार्यपालिका बैठकमा एमालेको समर्थन गर्ने र पार्टीको बैठकमा सहभागी नहुने शंकास्पद गतिविधि गर्न थालेपछि करवृद्धि विरुद्धको आन्दोलन कमजोर हुने देखिएको हो ।

गत स्थानीय निर्वाचनमा काँग्रेसबाट मेयरका उम्मेदवार रोहितकुमार साह १ हजार ३६४ मतले एमाले उमेदवार छत्रपति सुवेदीसँग पराजित भएका थिए । तत्कालीन नगर सभापति यादवराज सेढाईंमाथि अन्तरघातको आरोप लागेपछि उनी काँग्रेस राजनीतिबाट अलग भए । तर, १४ औं महाधिवेशनमा उनै सेढाईसँग २ मतले हारेका कोइरालाको हर्कतले काँग्रेसमा आन्तरिक कलह चुलिएको बताइन्छ । 

जम्मा दुई मतले हारेको भन्दै झापा कांग्रेसले कोइरालालाई नगरको कार्यवाहक सभापति बनाएपछि उनको चुरिफुरी बढेको कार्यकर्ताहरु बताउँछन् । विधानमा हुँदै नभएको व्यवस्थाबाट बनेका ‘टिके सभापति’ कोइराला मेयर सुवेदीलाई रिझाएर बजेट ल्याउने र एमाले कार्यकर्तालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर कमाउ धन्दामा लागेको कार्यकर्ताको आरोप छ ।

काँग्रेस गौरादह नगर समितिले भूमिकर, घर बहालकर, एकीकृत सम्पत्ति कर, सम्पत्ति कर  र सबैखाले सिफारिसमा अत्यधिक रकम वृद्धि गरेको भन्दै विरोध गर्दै आएको छ । तर, पार्टीको टिकटमा चुनाव जितेका कोइराला भने न बैठकमा जान्छन्, न आन्तरिक रुपमा आन्दोलनलाई ऊर्जा दिन्छन् । उल्टो मेयरसँग मिलेर कर वृद्धिविरुद्ध पार्टीले चलाइरहेको आन्दोलन तुहाउन भित्रभित्रै भूमिका खेलेको बताइन्छ ।

कोइरालाले पार्टीमा छलफल नै नगरि कर वृद्धिको विषयमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेको कार्यकर्ताको गुनासो छ । त्यसको प्रस्ताव कार्यपालिका बैठकमा पेश हुनुअघि नै पार्टीमा छलफल गर्नुपर्ने उनीहरुको माग छ । 

कर वृद्धिबारे पार्टीको विस्तारित बैठकमा भएको छलफलमा कांग्रेसक जनप्रतिनिधिहरूले फरक मत राख्ने र संशोधन प्रस्ताव टेबुल गर्ने निर्णयमा हस्ताक्षर गरेका कोइरालाले उक्त निर्णय कार्यान्वयन गर्न सकेनन् । तर, पछिल्ला बैठकमा भने उनी जानै छोडेको र कतिपय विषयमा कार्यकर्ताले सोधेका प्रश्नको जवाफ समेत नदिने गरेको बताइन्छ ।

टिप्पणीहरू