सिद्धान्त ‘युज एण्ड थ्रो’, पछिल्लो शिकार प्रकाश ‘ब्रो’ !

सिद्धान्त ‘युज एण्ड थ्रो’, पछिल्लो शिकार प्रकाश ‘ब्रो’ !
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नै स्वकीय सचिव प्रकाश सिग्देललाई सचिवालयबाट हटाएका छन् । प्रकाशले हिजोदेखि सचिवालय छाडेको बताइन्छ । 

उनले सामाजिक सञ्जालमा लेख्दै आफू नियमित कामबाट विश्राम लिएर केही समय पारिवारिक कार्यमा व्यस्त रहने जानकारी दिएका छन् । लेखेका छन्, ‘केही समयका लागि म पारिवारिक काममा व्यस्त रहनेछु ।’ 

स्टाटस अनुसार उनी केही दिन बिदामा बसेको देखिन्छ । तर रास्वपा स्रोतले प्रकाश सधैँका लागि सचिवालयबाट बिदा भएको बताएको छ । झ्वाट्ट हेर्दा प्रकाश आफैंले सचिवालय छोडेको जस्तो देखिए पनि वास्तविकता भने अर्कै भएको दाबी छ । उनलाई सचिवालय छाड्न बाध्य पारिएको एकथरीको बुझाई छ । पार्टी स्रोत भन्छ, ‘ती भाई पनि युज एण्ड थ्रोको शिकार भए ।’

केही समय पहिले भएको बेलायत भ्रमणदेखि रवि र प्रकाशबीच तिक्तता बढेको  रास्वपाकै अर्का एक जना पदाधिकारीले जानकारी दिएका छन् । त्यतिबेला रवि बेलायत पुग्नुअघि नै प्रकाश पुगेर एउटा भिडियो बनाएका थिए । भिडियोमा ‘बेलायतमा नेपालीले बनाएको सडकको उद्घाटन रविले गर्दै’ भन्ने प्रचार गरेका थिए । 

भिडियो रातारात भाइरलसँगै विवादित बन्यो । अर्कोदिन रविले बेलायतको सोही सडकमा पुगेर ‘आफू भ्रमणको लागि मात्र बेलायत आएको’ जनाउँदै चर्केको विषयलाई साम्य बनाउने प्रयास गरेका थिए । 

प्रकाशले तत्काल गल्ती स्वीकार्दै सम्पूर्ण गल्तीको जिम्मेवारी आफैैंले लिएका थिए । तर त्यस बेलादेखि रवि प्रकाशसँग चिढिन थालेका हुन् । रास्वपाकै एक पदाधिकारीका अनुसार बेलायत घटनायता रविले प्रकाशलाई बेवास्ता गर्दै आएका थिए । 

केही साताअघि रास्वपाले नारायणगढ–बुटवल पैदल यात्रा गर्दा पनि रवि र प्रकाशबीचको सम्बन्ध सुमधुर नदेखिएको व्याखा गरिएको छ । प्रकाशको ठाउँमा युवराज कंडेल (सिधाकुराका सहकर्मी) लाई ल्याउन खोजिएको कुरो प्रकाशले तेस्रो पात्रको मुखबाट सुनेका थिए । 

पछिल्लो समय सहकारी ठगी प्रकरणमा मुछिएर विवादित बनिरहेको बेलामा रविले आफ्नै स्वकीयलाई सिधै सचिवालयबाट निकालेका भने होइनन् । तर, प्रकाशले आफैँ छाडेको आशयमा जानकारी गराएपछि ‘सर्प पनि मर्ने, लठ्ठी नभाँचिने’ सिद्धान्तले काम गरेको हो । 

ती पदाधिकारीले थपेका छन्, ‘रवि जी अहिले आफैं विवादित हुनुहुन्छ । सभापतिलाई बचाउन अहिले पार्टीका सबै संयन्त्र र सांसद लागेका छन् । यस्तो अवस्थामा फेरि आफ्नै स्वकीयलाई सचिवालयबाट निकालेको सन्देश गएमा राम्रो नहुने भएकाले उक्त सिद्धान्तको प्रयोग गरिएको हो ।’ 

प्रकाश तीनै पात्र हुन्, जसले रविको जीवनमा महत्वपूर्ण अर्थ राख्दै आएको बताइन्छ । प्रकाशले पछिल्लो पाँच वर्षयता परिवारलाईभन्दा बढी समय रविको लागि खर्चिएको देखिन्छ । रविले ग्यालेक्सी खोल्दा प्रकाश चितवनका रिर्पोटर थिए । त्यही सममयमा उनीहरुबीच पहिलो भेट भएको थियो । 

रविले टिभि छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने घोषणा गरेपछि प्रकाशले पनि दिलोज्यान दिए । निर्वाचन र उपनिर्वाचनमा उनले चितवनमा दिनरात नभनी सहयोग गरेका थिए ।

टिप्पणीहरू