जहाँ चाकडीका गीत बजाइन्छ जहिल्यै

जहाँ चाकडीका गीत बजाइन्छ जहिल्यै

हाम्रो गाउँघरतिर एउटा उखान प्रचलित छ ‘छिमेकीले हात्ती चढ्यो भनेर रिसले आफ्नै घरको धुरी चढ्ने ।’ आमाले पनि हामीमाथि बेला–बेला यो उखान भन्दै व्यंग्य कस्नुहुन्थ्यो । किनभने हामी पनि पल्लो घरको साथीले जे गर्थे त्यही माग आमासामु राख्थ्यौँ । 

अल्लि पहिले हो, एउटा रिल भाइरल भएको थियो । त्यसमा उता अगाडि केपी ओली बसिरहनु भएको थियो र यतापट्टि एकजना नानीले गीत गाउँदै थिइन् । गीतको बोल त बिर्सिएँ तर गीतको सार केपी ओली प्रधानमन्त्री भएको देख्नपाऊँ भन्ने किसिमको थियो । दुई–दुई पटक प्रधानमन्त्री बनिसकेका ओलीले किन चाकडी भनेर सहजै बुझिने त्यस प्रकारको गीत त्यो पनि आफ्नै निवासमा बोलाएर सुन्न चाहनुभयो र ती नानीले पनि किन त्यस किसिमको आफैँलाई पनि लाज लाग्नेजस्तो गीत गाइन् भनेर म आजपर्यन्त अचम्मित छु । त्यो गीत प्रायोजित हो भनेर सहजै थाहा हुन्छ । चाकडीको भाषा धेरैलाई मन पर्छ ।

हामीले ओली कमरेडलाई असाध्यै मानेका हौं । हात हातमै लिएका हौं, काँध–काँधमै राखेका हौं । भनिन्छ नि मन पराएको मान्छेको ‘पाद’ पनि बसाउँछ । त्यो गीत सुनेर धेरै मान्छेले मनोरञ्जन लिए, आनन्दित भए, खुशीले गद्गद् पनि भए । किनभने उहाँलाई हामीले नेता मानेका थियौं, उहाँले जे भनेपनि, जसो गरेपनि हामीलाई महान् लाग्नु, उचित लाग्नु बिल्कुल स्वाभाविक हो । हामी असाध्यै ढोंगी छौं क्या । यस्तो भन्न कुनै डर मान्नु पर्दैन । हामी आफूलाई कम्युनिष्ट हौं पनि भन्छौं र कम्युनिष्टअनुसारको आचरण गर्न, कम्युनिष्ट जीवनशैली अपनाउन फेरि लाज मान्छौं ।

हामीमा यस्तो डरलाग्दो किसिमको द्वैध चरित्र देखिन्छ, तलदेखि माथिसम्मै । कम्युनिष्ट भनेको खासमा साधु सन्तजस्तो लोभलालच नभएको, ईष्र्या, रिस र घृणा नभएको, जे छ त्यसैमा सन्तुष्ट हुने, धनसम्पत्तिप्रति कुनै किसिमको आशक्ति नभएको मानिस हो भनेर सोनाम साथीले उहिल्यै एउटा लामो लेखै लेख्नुभएको थियोे । म उहाँको यस कथनमा सहमत छैन । कुरा के छ भने आफूलाई कम्युनिष्ट हुँ भनेर मान्ने कोही पनि आजको यथार्थभन्दा बाहिर जानै सक्दैन । वस्तुगत अवस्थाभन्दा टाढा जान सम्भव नै छैन । मान्छे साधु सन्त वा त्यस्तै भएर रहन सक्दै सक्दैन ।

यस्तो हुन संभव पनि छैन । कम्युनिष्ट भन्नेहरू पनि यही समाजका मान्छे हुन् । आजको सामाजिक यथार्थ के हो भने मान्छेलाई निजी सम्पत्ति अनिवार्य चाहिन्छ । निजी सम्पत्तिबिना मान्छेको जीवन नै चल्दैन । बालकोट दरबार, बूढानीलकण्ठ दरबार, कोटेश्वर दरबार किन बनेका त ? होस्टेलमा बसे पनि हुन्थ्यो नि ! संघर्षको समयमा हामी सबै जना कहिले गोठमा, कहिले टौवामा र कहिले परालको घोल्कीमा सुतेकै हो । आज घरमा बस्छौं । धन सम्पत्ति चाहिएको छ हामी सबैलाई । बालबच्चा पढाउन, विवाह ब्रतबन्ध गराउन, दाइजो दिन, भोजभतेर खुवाउन धनसम्पत्ति चाहिन्छ ।

अनि सम्पत्ति भनेको पैसा, सुनचाँदी मात्रै पनि होइन । शक्ति पनि सम्पत्ति नै हो । यो यथार्थबाट कोही पनि बाहिर जान सक्दैन । मुख्य कुरा नैतिक तरिकाले धन आर्जन गरेको हो कि अनैतिक तरिकाले भन्ने नै हो । जसले नैतिक तरिकाले धन आर्जन गर्छ ऊ अनैतिक भएर हिँड्नै सक्दैन । दुई थरी कुरा गर्नु भएन, कुरा यत्ति हो । 

हाम्रो गाउँ समाज नै यस्तो छ जहाँ रक्सी नखाई सामाजिक व्यवहार नै चल्दैन । क्षेत्री, बाहुनका घरमा बाहेक लगभग सबैको घरमा रक्सी पारिन्छ । रक्सी नपार्ने घरका मान्छेले पनि रक्सी पार्ने छिमेकमा गएर रक्सी चाख्छन् । मेला पर्ममा जाँडरक्सी दिइन्छ अर्निको साथमा । बाउआमाले आफ्ना छोराछोरीलाई ए यो चुरोट सल्काएर ले त भनेर अह्राउने चलन अझै पनि छ गाउँतिर । विभिन्न अवसरमा रोधी बस्ने, खेली गाउने, रोइला गाउने चलन जीवन्त छ । यहीँबाट घरजम बसाउँछन् तरुनी तन्नेरीहरू ।

हामी कम्युनिष्ट अरूका लागि सिद्धान्त लागू हुनुपर्छ भनेर आग्रह पाल्छौं तर आफू पशुपतिको साँढेजस्तो फुक्काफाल हुनुपर्छ भन्छौं । ल हामीले बिचार गरौं त आज को छ यहाँ जाँडरक्सी नखाने नेता, कार्यकर्ता र जनता पनि ? अन्यत्रको कुरा नगरौं, नेपालकै कुरा गरौं । जाँड रक्सी, माछामासु नबेची कुनै होटल, रेष्टुरेण्ट वा रिसोर्ट चल्न संभव छ ? त्यो त सम्भव छैन ।

अब त सोसियलाईजेशनको निम्ति पनि चियर्स गर्नुपर्ने अवस्था छ । हामीले यो भन्न सक्नुपर्छ । कार्यकर्तालाई माधव नेपालले रक्सी खान प्रतिबन्ध लगाउनुको कुनै औचित्य छ त भन्दा छैन । नेकपा (एस) का मान्छेले रक्सी खान छोड्लान् त भन्दा छाड्दैनन् । रोधी गाउन नजाऊ भनेर कसैले मान्लान् त ? अझ गजबको कुरा त मायाप्रीति गाँस्ने विषयमा देखिन्छ ।

आफूले भने युद्धको अवस्थामा समेत श्रीमती साथमा लिएर हिँड्ने तर अरूले मायापिरिम गाँसे भने तिनलाई कडा कारबाही गर्ने चरित्र पनि देखियो । आफू लुुकीलुकी प्रेमिकाको घरमा रात बिताउने तर अरूलाई नैतिकता सिकाउने यस्तो काइदा खासमा पाखण्ड नै हो । मैले यो किन भनेको छु भने अतिथि भएर होस् कि, मनोरञ्जनको निम्ति होस् कि अथवा अरू नै कारणले होस् यदि नेतृत्व डिस्को जान्छ, रोधीघर जान्छ, क्लब जान्छ वा जान हुन्छ भने अरू मान्छे पनि त्यहाँ जान हुन्छ । साँस्कृतिक डण्डा लगाएर उनीहरूको चरित्र हत्या गरिनु हुँदैन । 

मैले ओली कमरेडले फेसबुकमा शेयर गरेको भिडियो हेरें । अरू कुरालाई यथावत् राखेर गीतलाई मात्रै हेर्दा उहाँले आफ्नो फेसबुकमा शेयर गरेका गीतमध्ये अधिकांश नेपाली लोक दोहोरी गीत छन् । उहाँले आफ्नो रमाइलोको निम्ति गाउनुभएका गीत पनि लोकदोहोरी नै छन् । मान्छेका आ–आफ्ना रुचि हुन्छन् । उहाँको रुचिप्रति कुनै टिप्पणी छैन, म त समर्थन गर्छु । तर, यहाँ सवाल रुचिको होइन । किनभने उहाँ भनेको कम्युनिष्ट पार्टीको नेता हो र यो किसिमको समाज र संस्कृतिलाई बदल्न भनेर हिँडेको मान्छे हो ।

उहाँले आँखाले इशारा गर्दा मान्छे ज्यान फाल्न तयार हुन्छन् । उहाँको विचारको, आचरणको, जीवनशैलीको, स्टाइलको अनुशरण गर्ने मान्छे भक्तकै तहमा धेरै छन् । सार्वजनिक रूपमा उहाँले स्थापना गर्ने भनेको गीत, संगीत एउटा किसिमको छ जसलाई हामी प्रगतिशील भन्ने गर्छौं । रामेश, मञ्जुल, जेबी टुहुरे, स्याम तमोट आदिले लेखेका र गाएका गीत÷संगीत हुन् उहाँले सुन्छु भन्ने, गुन्गुनाउँछु भन्ने र आफूलाई मन परेका कलाकार हुन् भन्ने । तर उहाँले प्रमोट गरिरहेका गीत÷संगीत भने अर्कै किसिमको देखिन्छ ।

यस्तो दोहोरो मापदण्ड हुनुहुँदैन । प्रचण्ड पनि आन्दोलनको बहानामा रेखा थापासँग कुम जोडेरै नाचेका थिए । यस्तो बिरोधाभाष किन छ ? मुख्य प्रश्न यो हो । हामी कोही पनि कुनै प्रकारको गीतसंगीत, कला र साहित्यका विरोधी होइनौँ । हामीले पनि शान्तिश्री परियार, विष्णु माझीका गीत सुनेर मनोरञ्जन लिँदा हुन्छ । यसमा कुनै खती छैन ।

आफ्नो आचरण र व्यवहार व्यक्ति स्वयंले निर्माण गर्ने हो र तल–माथि हुन गएमा त्यसको जिम्मेवार स्वयं ऊ नै हुने हो । ‘कि लाऊ माया उहीतिर कि लाऊ मैतिर, माया नलाऊ दुईतिर’ भनेजस्तो हुँदैन जिन्दगी । आफूले जे गरिन्छ, त्यो अरूलाई पनि गर्न दिनुपर्छ । आफूलाई सबै गर्न छुट तर अरूलाई दण्ड–सजायँँ हुनुहुँदैन । जहाँसम्म कम्युनिष्ट आचरण, जीवनशैली कस्तो हुने भन्ने कुरा छ त्यो भन्ने कुरा मात्र हो, भित्र त नितान्त बेग्लै छ । र, त्यो भनेको सालको पात टपरी हुने भन्ने गीत आफूले सुन्ने र गुन्गुनाउने तर अरूलाई संघर्ष होइन, जीवन सुन्नुपर्छ भन्ने हो ।

हालसालै एउटा रिल भाइरल भएको छ कमरेड शंकर पोखरेलको । शायद चुनावी गीत हुनुपर्छ, पुरानो नै होला । शंकर कमरेडलाई एमालेका साथीहरू केपी कमरेडको उत्तराधिकारी मान्छन् । जबजको व्याख्याता र रोल मोडेल ठान्छन् । कसको देखासिकी गरेर हो कुन्नि, ओली कमरेडको हो कि जस्तो पनि देखिन्छ । कलाकारमार्फत आफ्नो प्रशंसाको बेजोड नमुना लाग्ने गीत गाउन लगाउनुभएको रहेछ ।

लेख्ने गीतकार पनि गजवकै देखिए, चौतारीमा राजा भेटिए भन्ने राजभक्तिपूर्ण गीतलाई पछाडि पार्छ शंकरभक्ति गीतले । गायकको गायकीलाई त नमानी धरै छैन । अब उपाध्यक्षदेखि केन्द्रीय सदस्य, मुख्यमन्त्रीहरू सबैले मैलेजस्तो निष्ठाको राजनीति कसैले गर्दैनन् भन्ने गीत गाउन लगाएर हिँड्ने हो भने के होला ? के हामीले बनाउन चाहेको, तयार गर्न चाहेको समाज यस्तै व्यक्ति पूजक समाज हो त ? गत चुनावमा यो गीतको नकारात्मक असर त परेन कतै ?

अन्त्यमा, कम्युनिष्टप्रतिको क्रेज घट्नुमा व्यवहारमा अतिशुद्धतावादको खोजी पनि हो । यस्तो कुराबाट कम्युनिष्टहरू जोगिनुपर्छ । कतै कमरेड धुरी चढ्दै त होइन ?
 
 

टिप्पणीहरू