जसपा अध्यक्षले महिलालाई प्रशिक्षण दिँदै

जसपा अध्यक्षले महिलालाई प्रशिक्षण दिँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो भ्रातृ संगठन समाजवादी महिला संघ मधेश प्रदेशका अगुवा महिला नेतृलाई प्रशिक्षण दिने भएको छ । जनकपुरको रमण टावरमा ‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ भन्ने नारासहित पार्टीले भोलि र पर्सि प्रशिक्षण दिन लागेको जनाइएको छ ।

कार्यक्रममा जसपा निकट मधेश प्रदेशका अगुवा महिला नेतृहरुको सहभागिता हुने जनाइएको छ । त्यस्तै, समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदााधिकारी, पार्टीका जिल्ला समिति, महिला सांसद र प्रदेशअन्तर्गत जसपानिकट स्थानीय महिला जनप्रतिनिधिहरु पनि उक्त कार्यक्रममा सहभागी हुने छन् । 

यसअघिका प्रदेशस्तरीय कार्यक्रममा महिला र पुरुष दुवै अगुवा नेतृत्वलाई सहभागी गराइए पनि यो कार्यक्रममा भने महिला नेतृहरु मात्रै सहभागी हुने पार्टीले जनाएको छ । केन्द्रदेखि प्रदेश समितिको विभिन्न निकायबाट एक सयभन्दा बढी महिला नेतृ सहभागी हुने उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेतृत्वले प्रशिक्षण दिने जनाइएको छ ।

राष्ट्रिय राजनीतिमा महिला सहभागिता, उनीहरुको भूमिका, नेपालको संविधान एवं ऐन कानूनमा महिला अधिकारको उल्लेखित प्रावधान, सामाजिक लोकतन्त्र, समसामायिक राजनीतिक परिवेशलगायतका एजेन्डामा प्रशिक्षण दिइने समाजवादी महिला संघ मधेश प्रदेशकी अध्यक्ष सञ्जीला यादवले जानकारी दिइन् ।

पछिल्लो समय जसपाले संगठन विस्तार, शुद्धिकरण, पुनर्गठनजस्ता अभियानलाई तीव्रता दिएको छ । हालै मात्र पार्टीका अध्यक्ष यादवको नेतृत्वमा विराटनगर, ओखलढुङ्गा, पोखरा, लुम्बिनी, लहान र जनकपुरमा प्रदेश एवं राष्ट्रिय समिति स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

टिप्पणीहरू