परराष्ट्रमन्त्री हज्जार हैन लाखौंमा दङ्गदास ?
परराष्ट्रमन्त्री एनपी साउदले नेपालले एक लाख मेगावाटसम्म विद्युत् उत्पादनको निम्ति अध्ययन थाल्नुपर्ने बताउनुभएको छ ।
भारतको ७५औं गणतन्त्र दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १० हजार मेगावाट बिजुली भारत निर्यातको हालैको सम्झौतापछि एक लाख मेगावाट उत्पादनको महत्वाकांक्षा राख्नुभएको हो ।
हालसम्मको अध्ययनबाट नेपालमा स्रोत र साधनले सम्पन्न भएको अवस्थामा बढीमा ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने अवस्था देखिएको छ । तर, सीमित पुँजी र बजारका कारण आगामी दिनमा ३० हजार मेगावाट उत्पादन गर्न पनि हामी हम्मेको स्थितिमा छौं । तर, परराष्ट्रमन्त्रीले एक लाख मेगावाटको कुरा उठाउँदा सुन्न जति आकर्षक लाग्छ, व्यवहारमा त्यो पत्यारिलो हुन नसक्ने जलविद्युत विज्ञहरु बताउँछन् ।
सोही कार्यक्रममा उहाँले भारतसँग सीमा समस्या समाधानको पहल अघि बढाइएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणको क्रममा भएको सहमतिअनुसार उक्त प्रक्रिया अघि बढेको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो,‘सीमा समस्याको समाधान राजनीतिक सहमतिमा हुनुपर्छ । प्रशासनिक रुपमा रहेको मेकानिज्म पनि क्रियाशील भएपछि तथ्यका आधारमा दुई मुलुकबीच समस्या समाधानका लागि कूटनीतिक पहल चलिरहेको छ । हालै भारतका विदेशमन्त्रीले गर्नुभएको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता ब्यक्त भएको छ ।’
टिप्पणीहरू