रोल्पामा यसरी बनेको हो एमाले

रोल्पामा यसरी बनेको हो एमाले
सुन्नुहोस्

राप्ती अञ्चलको कम्युनिष्ट आन्दोलन ०२८ सालदेखि तीव्रतम विकास भएको मानिन्छ । अञ्चलका विभिन्न जिल्लामा संगठन विस्तार गर्दै जाँदा ०२८ सालमा सिद्धरत्न नाथ नमुना मावि नारायणपुर दाङमा आगलागी गराइएको थियो । बेलुका ८ : ३० बजेको समयमा शिवपुर प्राविका प्रधानाध्यापक प्रेमनारायण अधिकारीले नाटकको पहिलो शो देखाउन लागेको बेला विद्यालयमा एक्कासी आगलागी भयो भन्दै होहल्ला भएको थियो । तत्कालीन नेपाल विद्यार्थी संघका दामोदर न्यौपाने,  गोविन्द गौतमलगायतले आगलागी गराएको भन्ने चर्चा सुनिन थाल्यो ।

०२८ सालदेखि नारायणपुर माविका प्रधानाध्यापक नेत्रलाल पौडेल (अभागी) को नेतृत्वमा शिवराज गौतम, अमरबहादुर डाँगी,  ऋषिराज जंगलीलगायत शिक्षकले तत्कालीन नेकपा मालेको विचारलाई अँगाल्नुभएकाले शासकहरू उहाँमाथि निगरानी राख्न थालेपछि बाध्य भएर पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुभएको थियो । त्यही समयदेखि दाङको हापुर, नारायणपुर,  बिजौरी, भोजपुरलगायत क्षेत्र नेकपा मालेको वर्चश्व रहेका क्षेत्र थिए । दाङका ती क्षेत्रसँग सिमाना जोडिएका रोल्पाका नुवागाउँ,  डुब्रिङ,  दुबिडाँडा,  सखी,  झेनाम,  मसिना, बुढागाउँ,  जुगारजस्ता क्षेत्रमा पनि नेकपा मालेको प्रभाव विस्तार हुँदै गएको थियो । पार्टीको पूर्णकालीन कार्यकर्ता भई अर्धभूमिगत अवस्थामा रहेका नेता नेत्रलाल अभागीले दाङ र रोल्पाका यी भूभागमा संगठन निर्माणमा विशेष योगदान गरेका थिए ।

रोल्पा जिल्लामा एमालेको अहिलेको आधार भनेको त्यही बेलाको संगठन हो । दाङसँग सिमाना जोडिएका क्षेत्रका अतिरिक्त गैरीगाउँ,  कोर्चवाङ, तालावाङजस्ता क्षेत्र पनि छिमेकी गाउँको प्रभावका कारण अहिले पनि नेकपा एमालेको पकड क्षेत्रको रूपमा लिने गरिन्छ । ०३९ सालमा दाङको सवारीकोटमा अभागीको निधनपछि संगठन निर्माणमा रोल्पाली नेताहरू नै जुट्नुपर्ने भयो । जसका लागि रत्नबहादुर बस्नेत,  हरिप्रसाद बस्नेत, कोर्चवाङका शिक्षक मानबहादुर बाँठा, धनबहादुर बस्नेत, शोभाराम बस्नेत, रविबहादुर पुनलगायत केही शिक्षकको पहल रह्यो । यता, सदरमुकाम लिवाङ तथा पूर्वी रोल्पामा दक्षिणको तुलनामा एमाले निकै कमजोर थियो ।

०४६ सालको राजनीतिक परिवर्तनपछि सदरमुकाम लिवाङमा पार्टी कार्यालय स्थापना भयो । तत्कालीन जिल्ला सचिवमा यज्ञराज बास्तोला आएका थिए । बास्तोलाले करिब २ वर्ष पार्टी सञ्चालन गरेपछि उनको ठाउँमा ०४८ सालतिर टिकाराम खड्का आए । बहुदलीय व्यवस्था पुनःस्थापनासँगै ०४८ सालमा पहिलो आमनिर्वाचन हुने भयो । त्यतिबेला नेकपा माले र माक्र्सवादी मिलेर नेकपा एमाले बनिसकेको थियो ।

एमालेका धेरै कार्यकर्ताले रोल्पामा एमाले सूर्य चिह्नबाट चुनाव लड्नुपर्छ भनेर माग राखे पनि राप्ती अञ्चलमा ‘सबै बाम एकठाम’को नीतिअनुसार तत्कालीन संयुक्त जनमोर्चा नेपाललाई छाडिदिनुपर्ने भयो । शैसवकालमा रहेको एमालेले पहिलो आमनिर्वाचनमा सहभागी हुन नपाउने भए पनि कार्यकर्तामा असन्तुष्टि देखिन थालेको थियो । माथिको आदेश मान्नैपर्ने बाध्यताका कारण रोल्पा निर्वाचन क्षेत्र नं. १ मा संयुक्त जनमोर्चाका उम्मेदवार बर्मन बुढामगर र निर्वाचन क्षेत्र नं. २ मा कृष्णबहादुर महरालाई मतदान गर्नै पर्ने भयो । क्षेत्र नं. १ घर भएका महराको आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचन जित्ने सुनिश्चितता नभएपछि क्षेत्र नंं २ मा गएर लडेका थिए भने क्षेत्र नं. २ को थवाङ घर भएका बरमन बुढा भने क्षेत्र नंं १ बाट उठेका थिए । हारजितको संशयका बीच ०४८ सालको संसदीय निर्वाचन रोल्पाबाट दुवै क्षेत्र तत्कालीन नेकपा एकताकेन्द्रको वैधानिक मोर्चाले जितेको हो ।

राप्ती अञ्चलमा रहेका ११ वटा निर्वाचन क्षेत्रमध्ये दाङको ३ वटा,  सल्यानको २ वटा र प्युठानको १ निर्वाचन क्षेत्र गरी ६ वटा क्षेत्रमा नेकपा एमालेलाई सहयोग गर्ने र रोल्पाका २, रुकुमका २ र प्युठानको १ गरी ५ वटा क्षेत्र तत्कालीन संयुक्त जनमोर्चालाई दिने सहमतिबमोजिम भएको गठबन्धनमा नेकपा एमालेले दाङको एउटा निर्वाचन क्षेत्रबाट मात्रै जितेको थियो भने जनमोर्चाले रोल्पाबाट २ र रुकुमबाट १ सिट जितेको थियो । दाङबाट शिवराज गौतमले जितेका थिए भने रोल्पाबाट कृष्णबहादुर महरा र बर्मन बुढा तथा रुकुमबाट खड्कबहादुर बुढा आएका थिए । अन्य सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भए ।

रोल्पाका एमालेजनले पहिलो संसदीय निर्वाचनमा सूर्यमा भोट नहाली हँसिया हथौडामा भोट हाल्न बाध्य भएका थिए । पहिलो निर्वाचनमा नै नेकपा एमालेले रोल्पामा चुनाव लक्षित गतिविधि गर्न नपाएका कारण जिल्लाभरि संगठनको सञ्जाल विस्तार हुन सकेन । ०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिमा संयुक्त जनमोर्चासँग मिल्नुपर्ने भयो । त्यतिबेला कांग्रेस र राप्रपा मिलेका थिए । संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीलाई सभापति र नेकपा एमालेका मानबहादुर बाँठालाई उपसभापति बनाउने गरी गठनबन्धन गरियो । सुवेदी र बाँठामगर दुवैजना शिक्षण पेशामा संलग्न थिए । दुवै जनाले स्थायी नोकरीबाट राजीनामा दिएर निर्वाचन लडे ।

०५२ साल फागुन १ गतेपछि तत्कालीन नेकपा माओवादीको नामबाट सशस्त्र युद्धको घोषणा गरी भूमिगत राजनीतिमा प्रवेश गरेसँगै रोल्पामा उनीहरूको आक्रमणको तारो राप्रपा, नेपाली कांग्रेस, एमाले कार्यकर्ता र समर्थक बन्न पुगे । युद्ध अवधिमा माओवादीले एमालेका दर्जनौँ नेता–कार्यकर्ता र शुभचिन्तकको हत्या गरे । हार्जङको एकघरमा बसिरहेका एमालेका ९ जना नेता–कार्यकर्तालाई माओवादीले घरमा आगो लगाएर हत्या गरेका थिए । युद्ध अवधिभर एमालेले आफ्ना सांगठनिक गतिविधि गर्न पाएन ।

शान्ति प्रक्रियापछि एमालेको गढ मानिने दक्षिण रोल्पामा माओवादी लडाकुको शिविर राखियो । नुवागाउँको दहवनमा मुख्य शिविर र मासिना तथा गैरीगाउँमा सहायक शिविर राखेपछि लडाकुले एमालेलाई सांगठनिक गतिविधि निर्वाध गर्न दिएनन् । लडाकुको उद्देश्य रोल्पामा एमालेलाई कमजोर पार्नु थियो । यसरी रोल्पामा एमालेलाई उठ्नै नदिने गरी संयुक्त जनमोर्चाकालदेखि माओवादी युद्ध र शान्तिप्रक्रियाको अवधिमा गतिविधि भइरहे पनि एमालेले रोल्पामा आफ्नो संगठन बचाइराखेको छ । कांग्रेस र एमालेले समेत रोल्पालाई नेकपा माओवादीको आरक्षण क्षेत्रजस्तो व्यवहार गरेको गुनासो छ । माओवादी केन्द्र कहिले कांग्रेससँग त कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्ने गरेको छ ।

यसरी जुन दलसँग गठबन्धन गरे पनि रोल्पा माओवादीलाई छाड्दिनुपर्दा यहाँ कांग्रेस र एमालेको संगठन कमजोर हुनु स्वाभाविक हो । यस्तो अवस्थामा समेत एमालेले माओवादी समेतको सहभागितामा भएका दुई वटा स्थानीय तह निर्वाचनमा सम्मानजनक उपस्थिति देखाएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा दुई स्थानीय तह र ११ वडाध्यक्ष जितेको एमालेले ०८० सालमा एक स्थानीय तहको अध्यक्ष र ८ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले जिल्लाका प्रायः सबै स्थानीय तहमा माओवादी केन्द्रसँग गठबन्धन गर्दा एमालेको केही मत काटिन पुगको थियो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा जैमाकसला, गामजस्ता वडा एमालेले जितेको थियो । दोस्रो स्थानीय तह निर्वाचनमा ती वडा गुमाउनुपरे पनि पूर्वीरोल्पामा संगठन मजबुत हुँदै गएको बुझ्न सकिन्छ ।

टिप्पणीहरू