एमालेलाई छेक्न बनेको गठबन्धनले देशमा ग्रहण लाग्यो- ओली

एमालेलाई छेक्न बनेको गठबन्धनले देशमा ग्रहण लाग्यो- ओली फाइल फाेटाे

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले देश बिगारेको आरोप लगाउनुभएको छ । 

आज सिन्धुपाल्चोकको पाँचपोखरीमा थाङ्पाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न पुग्नुभएको उहाँले गठबन्धनका कारण देश संकटमा परेको बताउनुभएको हो । अध्यक्ष ओलीले एमालेलाई घेराबन्दी गर्न गठबन्धन बनेको र त्यसले देशमा ग्रहण लागेको बताउनुभयो । 

'देशलाई ग्रहण लागेको छ । यहाँ त ८, १० वटा गठबन्धनहरु छन्, एमालेलाई छेक्न । एमालेलाई ग्रहण लगाउनका लागि आठ दश वटा एक ठाउँ ठोक्किएर आएका छन्', उहाँले भन्नुभयो । 

ओलीले गठबन्धनका दलहरुले देश बनाउने भन्दा गठबन्धन जोगाउने कुरामात्रै बढी गरेको समेत आरोप लगाउनु भयो । भन्नुभयो, 'देश बनाउने कुरा सुन्नुभएको छ उनीहरुबाट । गठबन्धन जोगाउने भन्छन् । देश जोगाउने होइन, गठबन्धन जोगाउने रे ।’

एमाले सरकारमा जान हतार नगर्ने तर गठबन्धनले काम गर्न नसकेको अवस्थामा भने जुर्मुराउने उहाँको भनाई छ ।

टिप्पणीहरू