कमरेडहरुवीच कुटाकुट, कार्यकर्ताको हात भाँचियो,नेताहरुको फरक मत

कमरेडहरुवीच कुटाकुट, कार्यकर्ताको हात भाँचियो,नेताहरुको फरक मत

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिल्ला कमिटी धादिङको नवौँ अधिवेशनमा दुई पक्षबीच कुटाकुट हुँदा एक कार्यकर्ता घाइते भएका छन् । 

बन्दसत्रमा कसले अध्यक्षता गर्ने भन्ने विवाद चर्किंदै जाँदा हात हालाहालको अवस्था आएको र बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले बताए । 'बन्दसत्रको सुरुवातमै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्यो, यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ', उनले भने । 

अध्यक्ष ढुंगेलले विज्ञप्ति निकालेर अधिवेशन स्थगित भएको घोषणासमेत गरेका छन् । सादा कागजमा उनले निकालेको विज्ञप्तिमा जिल्ला कमिटी अध्यक्षले एकलौटी गर्न खोजेपछि भिडन्त भएको र कार्यकर्ताको हात भाँचिएको उल्लेख छ । अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सन्चालन गर्न नसकिने देखिएकाले बन्दसत्र स्थगित गरिएको उनले बताएका छन् ।  

प्रदेश अध्यक्षको विज्ञप्तिलाई काउन्टर दिँदै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने अधिवेशन नरोकिएको बताएका छन् । पार्टीको लेटरहेडमा उनले जारी गरेको विज्ञप्तिमा बन्द सत्रको कार्यक्रम निरन्तर जारी रहेको उल्लेख छ । 

‘२०८० माघ १९ गते देखि जारी नेकपा (एमाले) धादिङको  नवौं जिल्ला अधिवेशन भैरहेकोे अवस्थामा केही अनाधिकृत व्यक्तिले अधिवेशनको कार्यक्रम स्थगित भएको भनी सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ', अध्यक्ष त्रिपाठीले भनेका छन्, 'बन्दसत्रको कार्यक्रम निरन्तर सञ्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु ।'

बन्दसत्रको अध्यक्षमण्डलको अध्यक्षता गर्ने विषयमा विवाद भएको भनिएपनि केन्द्रीय गुटको प्रभावले लफडा भएको जिल्ला नेताहरुको भनाई छ । जिल्ला अध्यक्ष त्रिपाठीले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय गर्न खोजेपछि उत्पन्न तनाव हुलहुज्जत र धक्कामुक्कामा परिणत भएको बताइन्छ ।

अस्तिदेखि शुरु भएको अधिवेशनमा हिजो बन्दसत्रमा प्रवेश गर्नुअगाडि प्रतिनिधि निक्र्यौल गर्ने विषयमा केन्द्रीय गुट टकराएको र त्यसैले कुटाकुटको रुप लिएको नेताहरू बताउँछन् ।


 

टिप्पणीहरू