राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति तोकियो, गठबन्धनबाट को होला उम्मेदवार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति तोकियो, गठबन्धनबाट को होला उम्मेदवार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेका लागि प्रस्ताव गरिएको छ । अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल सकिएलगत्तै निर्वाचन गर्नेगरी राष्ट्रियसभाले चुनाव गर्ने सम्भावित कार्यतालिका निर्धारण गरेको हो । 

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यतालिकामा फागुन २७ गते निर्वाचनको दिन र समय निर्धारण हुने र पर्सिपल्ट २९ गते निर्वाचन गर्ने उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसदको बिदाई हुँदैछ ।

उनीहरुको स्थानमा माघ ११ गते सम्पन्न निर्वाचनबाट १९ जना निर्वाचित भएर आइसकेका छन् भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् । निर्वाचनपछि राष्ट्रियसभामा दलहरुको हैसियतसमेत बदिएको छ । प्रतिनिधिसभामा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र १७ सदस्यसहित पहिलो दल बनेको छ भने नेपाली काँग्रेस १६ सांसदसहित तेस्रोबाट दोस्रोमा उक्लिएको छ । 

निर्वाचनअघि पहिलो दलको हैसियतमा रहेको एमाले भने १० संदसहित तेस्रो स्थानमा झरेको छ । ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ । माघ ११ को चुनावमा कांग्रेसका १०, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २, जसपाका १ र एमालेका १ जना निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा सत्तारुढ गठबन्धनको प्रष्ट बहुमत भएकाले गठबन्धनकै उम्मेदार अध्यक्ष निर्वाचित हुने निश्चित देखिए पनि कांग्रेस र माओवादी केन्द्रले अध्यक्षमा आ-आफ्नो दाबी गरिरहेको अवस्था छ । 

काँग्रेसको आन्तरिक राजनीतिलाई आफू अनुकूल व्यवस्थापन गर्न सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउन चाहेको चर्चा छ । तर, कोशी प्रदेशमा गठबन्धनबाट एकपछि अर्को धोका खाएको माओवादी केन्द्र अध्यक्ष नछोड्ने तयारीमा रहेको नेताहरुको अभिव्यक्तिबाट बुझिन्छ । 

राष्ट्रियसभामा पहिलो दल भएकाले अध्यक्षमा आफ्नो पार्टीको दावी स्वभाविक हुने माओवादीका नेताहरु बताइरहेका छन् । त्यस्तै, आलोपालो प्रधानमन्त्रीको सहमतिअनुसार अर्को वर्ष काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादीको प्रतिनिधित्व शून्य हुने भएकाले पनि अध्यक्ष छोड्न नसकिने उनीहरुको तर्क छ । 

माओवादीबाट हालका उपाध्यक्ष उर्मिला अर्याल अध्यक्षको दावेदार मानिएको छ ।

टिप्पणीहरू