कुटाकुटले बिथोलिएको अधिवेशन स्थगित गरेर नेताहरु काठमाडौँमा, प्रतिनिधि अलपत्र
नेकपा एमाले धादिङ जिल्ला कमिटीको विवाद केन्द्रसम्म आइपुगेको छ । जिल्ला अधिवेशनका दौरान दुई पक्ष कुटाकुटमा उत्रिएपछि उत्पन्न विवाद मिलाउन केन्द्रीय अध्यक्ष नै गुहार्नुपर्ने अवस्था आइलागेको हो ।
दुबै पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अहिले काठमाडौँ आइपुगेका छन् । जिल्ला अधिवेशन स्थगित गरेर बाग्मती प्रदेशका इञ्चार्ज, अध्यक्ष र जिल्ला अध्यक्षसहितका नेताहरु अपराह्न काठमाडौँ आएका हुन् ।
शुक्रबारदेखि शुरु भएको अधिवेशनको बन्दसत्रमा प्रतिनिधिको मापदण्ड र अध्यक्षमण्डलको अध्यक्षता कसले गर्ने भन्ने विषयमा विवाद शुरु भएको थियो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट हुँदा एक कार्यकर्ता घाइतेसमेत भएका थिए ।
बन्दसत्रको अध्यक्षमण्डलको अध्यक्षता गर्ने विषयमा विवाद भएको भनिएपनि केन्द्रीय गुटको प्रभावले लफडा भएको जिल्ला नेताहरुको भनाई छ । पुन: अध्यक्षमा दोहोरिन चाहेका भूमि त्रिपाठीलाई रोक्न प्रदेश अध्यक्ष कैलाश ढुंगेलले हस्तक्षेप गरेपछि वातावरण विग्रिएको एउटा पक्षको दाबी छ ।
तर, कैलाशले भने आज बिहानै विज्ञप्ति निकालेर त्रिपाठीले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय गर्न खोजेपछि उत्पन्न तनाव हुलहुज्जत र धक्कामुक्कामा परिणत भएको बताएका थिए । उनले अधिवेशन स्थगितको घोषणासमेत गरेका थिए । तर, प्रदेश अध्यक्षको विज्ञप्तिलाई काउन्टर दिँदै त्रिपाठीले भने अधिवेशन नरोकिएको बताएका थिए ।
अध्यक्ष ओलीसँग सरसल्लाह गर्न नेताहरु काठमाडौँ हिँडेपछि भोलि बिहान ८ बजे शुरु हुनेगरी अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ । गुटको नेतृत्व गर्नेहरु विवाद मिलाउन हिँडेपछि प्रतिनिधिहरु चै अधिवेशनस्थलमै अलपत्र परेका छन् ।
टिप्पणीहरू