हिजो उपचुनावबारे सल्लाह, आज नामावली दर्ताको सूचना
निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता आह्वान गरेको छ । तीनै तहमा रिक्त २३ पदमा छिट्टै उपचुनाव गराउने तयारीमा रहेको आयोगले छुटेका र नयाँ मतदातालाई नाम दर्ता गर्न भनेको हो ।
आयोगद्धारा आज जारी विज्ञप्तिमा विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका र रिक्त भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न भनिएको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था छ ।
२०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ । हिजोमात्रै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र उप्रधन तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच उपचुनावबारे छलफल भएको थियो ।
टिप्पणीहरू