धरहराको कुराले सरकार र महानगर आमनेसामने, बालेनले भने - केपी ओलीलाई प्रश्न गर्नू

धरहराको कुराले सरकार र महानगर आमनेसामने, बालेनले भने - केपी ओलीलाई प्रश्न गर्नू
सुन्नुहोस्

धरहराको निःशुल्क पार्किङको विषयलाई लिएर संघीय सरकार र काठमाडौँ महानगर आमनेसामने भएका छन् । धरहराको निर्माण सम्पन्न नहुँदै महानगरले पार्किङ संचालनमा ल्याएपछि विवाद निम्तिएको हो । 

महानगरपालिकाले गत माघ ९ गतेदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गर्दै त्यसको विकल्पमा निर्माणाधीन धरहराको भूमिगत पार्किङ प्रयोगमा ल्याएको छ । तर, सहरी विकास मन्त्रालयले भने निर्माणाधीन अवस्थामा रहेको धरहरामा पार्किङ गर्दा जोखिम हुने भन्दै महानगरको कदमप्रति चर्को असन्तुष्टी जनाएको छ । 

 मन्त्रालयले महानगरलाई पत्र लेखेर हाललाई उक्त धरहराको भूमिगत पार्किङ संचालन नगर्नसमेत भनेको छ । 

पत्रमा भनिएको छ, ‘हाललाई पार्किङ प्रयोगको कार्य रोकी निर्माण कार्यलाई सुचारु र अवरोध रहित ढंगले अगाडि बढाउन सहयोग गरिदिन हुन हार्दिक अनुरोधका साथ सर्वसाधारणलाई चाँडोभन्दा चाँडो पार्किङ सुविधा उपलब्ध गराउने विषयको संवेदनशीलतालाई समेत मनन् गर्दै आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गरी पार्किङस्थललाई उपयोग गर्ने कार्य अगाडि बढाइने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

निर्माण कार्य सम्पन्न नभई भूमिगत पार्किङ सञ्चालन गर्दा निस्सासिएर मानवीय क्षति हुने सम्भावना देखिएको उल्लेख गर्दै पत्रमा निर्माणस्थलमा अनगिन्ती र अनाधिकृत व्यक्ति र सवारीसाधनको प्रवेशले सुरक्षामा थप चूनौती बढ्न जानेतर्फ पनि सचेत गराइएको छ । 

‘निर्माण सामग्रीहरुको टुटफुट एंव बनिसकेका संरचनाहरुमा क्षति हुनसक्ने र त्यसको जिम्मेवारी कसले लिने ? भन्ने विषय अन्योल रहेको छ,’ पत्रमा लेखिएको छ । 

यता, महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले भने मन्त्रालयको पत्रमाथि आक्रोश पोख्दै धराहराको बेसमेन्टमा सुरु भएको निःशुल्क पार्किङ बन्द नगर्ने अडान सार्वजनिक गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन । महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुदैंछ, अझै व्यवस्थापन गर्दै लग्नेछौं ।’

मेयर शाहले उद्घाटन भएको दुई वर्ष नौं महिनापछि पनि निर्माणाधीन भन्नु लाजमर्दाे भएको समेत टिप्पणी गर्दै भनेका छन्, ‘अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाई गर्ने मनाय देखिएको छ । हामी काठमाडौं महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौं ।’

तत्कालिन प्रधानमन्त्री केपी ओलीद्धारा २०७८ बैशाख ११ गते शनिबार ‘सेतो टावर’ को उद्घाटन भएको उल्लेख गर्दै उनले पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ओलीलाई पत्र लेख्नु उपयुक्त हुने समेत बताएका छन् । 

‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालिन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो ‘नबनेको भए म बिसौं तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिपश्र गर्नेहरुलाई पत्र लेख्नु उपयुक्त हुन्छ,’ उनले लेखेका छन् । 

मेयर शाहले निर्माण सम्पन्न नभई उद्घाटन गने कुप्रवृत्तिलाई निरुत्साहित गर्न माग गर्दै सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरुसँग ख्याल ठट्टा नगर्न समेत जनाएका छन् ।

टिप्पणीहरू