सांसदद्वारा चीनको मुक्तकण्ठले प्रशंसा
प्रशान्त महासागरमा रहेको टापु मुलुक पपुवा न्यू गिनीका एक जना सांसदले चीनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । हालै केही अमेरिकी अधिकारीले पपुवा न्यू गिनीले चीनसँग गरेको लगानी तथा सुरक्षा सम्बन्धलाई लिएर चर्को आलोचना गरेसँगै चेतावनी दिएपछि सांसदले चीनको प्रशंसा गरेका हुन् ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सांसद जोसेफ योपियोपीले अमेरिकाबाट आफ्नो मुलुकले कुनै लाभ लिन नसकेको उल्लेख गर्दै भने, ‘चीनले प्रशान्त महासागरमा रहेका टापु मुलुकको आर्थिक विकासमा निकै सहयोग गरेको छ । तर, अमेरिकाले आफ्नो मुलुकलगायत कसैलाई पनि त्यो तहको सहयोग गरेको छैन ।’ सो क्षेत्रमा निर्माण भएका सडक सञ्जाललाई चीनको सहयोगको रुपमा हेर्न सकिने उनले बताए ।
चिनियाँ समाचार समिति सिन्ह्वासँगको कुराकानीमा सांसद योपियोपीले अमेरिकालगायत पश्चिमा मुलुकको विभेदपूर्ण व्यवहारको खरो आलोचना गरेका छन् । उनीहरुको तुलनामा चिनियाँ जनता र चीन सरकारको व्यवहार तथा सहयोग सम्मानयोग्य र समानतापूर्ण रहेको उनको ठहर छ ।
‘मलाई लाग्छ चीन हाम्रा लागि सबै खालका सहयोगको निम्ति कार्य गर्न सहज मुलुक हो,’ सांसदले भने ।
टिप्पणीहरू