सदनमा गगनको आक्रोश - सरकारी जग्गा हडप्ने र सहकारी ठग्नेहरुलाई कारवाही हुनुपर्दैन ?

सदनमा गगनको आक्रोश - सरकारी जग्गा हडप्ने र सहकारी ठग्नेहरुलाई कारवाही हुनुपर्दैन ?

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारी जग्गा हडप्नेहरु जतिसुकै शक्तिशाली भए पनि कानुनको दायरामा ल्याएर कारवाही गर्नुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले जग्गा हडप्ने वा मिच्ने शक्ति जतिसुकै प्रभावशाली भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका हुन् । थापाले कानुन मिचेमा आमनागरिकले जसरी दण्ड पाउँछन्, त्यसैगरी शक्तिशालीलाई पनि छाड्न नहुने बताए ।

‘राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति, गलत गर्नेले दण्डित हुनुपर्छ । हातमा तागत होस् या कलम होस् उसलाई दण्डित गरिनुपर्छ’, उनले भने, ‘सार्वजनिक जग्गा हडप्ने जोसुकैले पनि दण्डित हुनुपर्छ । जग्गा हडप्ने होस् या मिच्ने कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन ।’

सुशासनका पक्षमा सरकारले गरेका काममा कतैबाट प्रभावित हुन् नहुनेमा जोड दिँदै थापाले भने, यताको होस् उताको होस्, जुनसुकै दलको होस् कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । घटना र प्रकरण हेरेर आफ्ना मतहरु बनाउनु हुँदैन ।' आक्रोशित हुँदै उनले प्रश्नसमेत गरे, 'नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ? 

थापाले सहकारी ठगी प्रकरणमा पनि दोषी जुनसुकै तहक शक्तिशाली भए पनि कारवाही हुनुपर्ने बताएका छन् । 'आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारवाहीको दायरामा ल्याउनु पर्दैन ? कानुनले कारवाही गर्नु पर्दैन ?', उनको प्रश्न छ ।  

अहिले सरकार र राज्यका निकायहरुप्रति नागरिकमा भरोषा नरहेको उल्लेख गर्दै महामन्त्री थापाले कानुन कार्यान्वयनका सन्दर्भमा सबैलाई समान व्यवहार गरेको प्रत्याभूति दिलाउन सके मात्रै टुटेको भरोषा जगाउन सकिने बताए । 'सरकारले  बाटो समात्दै गयो भने बल्ल एउटा विश्वासको वातावरण बन्न सक्छ । राज्य भएको भरोशा दिलाउने कुरा, राज्यको उपस्थिति जनाउने कुरा केही विशिष्ट प्रकरणहरुका सन्दर्भमा मेरो राज्यले, सरकारले के गरिरहेको छ भनेर नागरिकले हेरिरहेको हुन्छ', उनले भने ।

टिप्पणीहरू