सास र लाशबिनाका शहीदहरू
सन् १९७८ मा ‘दिवाली’को माहोलबीच भारतको हरियाणाका हरेक घरमा सरसफाइ चल्दै थियो । ७ वर्षका दीपचन्दको नजर घरको भित्तामा झुण्डिएको एक तस्बिरमा गयो । धुलाम्मे त्यो तस्बिर पुछ्दा उनले बर्दीमा सजिएका एक मान्छे देखे ।
ती थिए– सुभाषचन्द्र बोस ! तस्बिर देखेर लोभिएका दीपचन्दले आफूलाई पनि त्यस्तै फौजी बर्दीमा सजिएको कल्पिन थाले । र, फोटो देखाउँदै हजुरबा–आमासँग सोधिखोजी गर्न थाले । नातिको जिज्ञाशा सुनेर हजुरबा–आमाले सुनाइरहन्थे । हजुरबाकै मुखबाट सुनेको सुभाषचन्द्र बोसको एउटा शब्दले उनको दिमाग धेरै पछिसम्म हल्लाइरह्यो– ‘तुम मुझे लहु दो, मैं तुम्हें आजादी दुङ्गा !’ त्यो शब्दमा के जादू थियो कुन्नि ! दीपचन्दले सेनामा भर्ती हुने मन बनाए तर सबै जना उक्त निर्णयको खिलाफ थिए, हजुरबा–आमाबाहेक ।
दीपचन्दका बुबा चाहँदैन थिए, घरको जेठो छोरा फौजी बनोस् । बुबाको चिन्ता थियो, छोरा फौजमा लाग्यो भने लाश पनि घर फर्किंदैन । त्यो पीर जायज नै थियो । त्यति बेला युद्धमा होमिएका सैनिकहरूको न सास भेटिन्थ्यो न लाश । मात्रै उनीहरू ‘शहीद’ हुन्थे । तर, दीपचन्दले सोचिसकेका थिए, ‘बन्छु तर मात्र देशको सुपुत्र ।’ त्यसैले उनले सेनामा भर्ती हुनका लागि फाराम भरे । हेर्दै खाइलाग्दो र जेहेन्दार देखिन्थे दीपचन्द । शारीरिक, मेडिकल र फिटनेस परीक्षणमा सफल भएपछि सन् १९८९ देखि मिसाइल रेजिमेन्टमा भर्ती भए । उनीभन्दा पहिले कोही सेनामा आबद्ध थिएनन् । सन् १९९३ बित्दै थियो । गोलाबारुदको तालिम पूरा गरे । १९९७ ताका पृथकतावादीहरूले कश्मिर उपत्यकामा पाइला फैलाउँदै थिए । त्यहीबेला उनको बटालियनलाई श्रीनगर जाने आदेश आयो । कश्मिरको सुन्दरतालाई फिल्ममा देखेका थिए । तर, प्रत्यक्ष देख्दा आफैँ लोभिए ।
‘कश्मिर वास्तवमा स्वर्गै थियो’, सुस्केरा हाल्दै सुनाउँछन् । एउटा मिशनमा कश्मिर छिरेका उनले त्यहाँ मानिसहरूसँग घुलमिल हुन ‘भाषाको कोर्श’ गरे । र, कैयौँ महिना ‘खुफिया विभाग’मा काम गरे । त्यहीँ बसेर दीपचन्दको टोलीले सात जना आतंकवादीलाई मार्यो । सयौँ युवा आतंकवादीको आदेशमा सेनासँग लडिरहेका थिए, देशविरुद्ध नारा लगाइरहेका थिए । उनीहरूलाई एकपटक मौका दिइयो । जसको नाम थियो, ‘अपरेशन रक्षक’ । कश्मिरमा चलिरहेको अपरेशनको कारण उनी ७–८ महिना घर जान पाएनन् । सोचेका थिए, घर गएर परिवारसँग रमाइलो क्षण बिताउने । तर उनलाई कारगिल पठाइयो ।
कारगिल युद्ध
एक २२ वर्षीय युवक । जवानीले भरिएको शरीर बन्दुक उठाउन र गोला–बारुदसँग खेल्न आतुर थियो । भारत र इण्डियाबीचको लडाइँ हो, कारगिल युद्ध । जसलाई अपरेशन ‘विजय’को नामले पनि चिनिन्छ । सन् १९९९ को मई र जुलाईमा भएको युद्ध कश्मिरको कारगिल भन्ने ठाउँमा भएको थियो । त्यो युद्धको सबैभन्दा चुनौती थियो, तोलोलिंङ (पहाड) । उचाइमा पुग्न सजिलो थिएन । तर, युद्ध जित्ने हुटहुटी लिएका दीपचन्द त्यहाँ पुगेर गोली प्रहार गर्ने पहिलो सैनिक बने । धमाधम चलिरहेको युद्धमा दीपचन्दले पाकिस्तानी सेनाको अन्धाधुन्द गोलीबारीबीच आफ्नो ज्यान मात्र बचाएनन् । आफ्ना धेरै सहकर्मीलाई जीवितै फिर्ता ल्याए । तर, उनले युद्धमा आफ्नै एउटा हात र दुवै खुट्टा गुमाए । कारगिल युद्धमा घाइते भएका उनलाई अस्पताल लगियो । रगताम्य अवस्था देखेर डाक्टरले समेत दीपचन्दलाई मृतक घोषणा गरिदिए । तर, दोस्रो पटकको जाँचमा उनको श्वास चल्न थाल्यो । सोहीअनुसार उपचार भयो । १७ बोतल रगत चढाउनु पर्यो । र, कयौँ घण्टाको अपरेशनपछि होश फिर्यो । त्योबेला उनले आफ्नो हात र खुट्टा गुमाइसकेका थिए । सग्लो शरीरबाट छुट्टिएको हातखुट्टा भन्दा दीपचन्द आफ्नो साथीहरूलाई गुमाउनुपर्दा दुःखी थिए । ‘कारगिल युद्ध जित्नै लागेका थियौँ । हामीलाई लागिरहेको थियो, दुश्मन सबै मरिसके । तर, हामी गलत थियौँ । दुश्मनलाई कमजोर सोच्यौँ । त्यतिबेला हामीमाथि बम–बारुद बर्सिन शुरु गर्यो । त्यही धमाकामा मेरो साथी प¥यो । मेरो अगाडि नै उनको शरीरको टुक्रा कुनै जनावरको मासुजस्तै छरपस्ट भयो ।
परिवारसँगको त्यो भेट
अस्पतालको बेडमा लम्पसार थिए, दीपचन्द । युद्धमा घाइते भएको थाहा पाएका परिवार भेट्न अस्पताल आए । तर, उनले आफू अपांग भएको कुरा लुकाए । दीपचन्दले परिवारको अगाडि कैयौँ दिन आफूलाई सिरकले ढाके । बहानाबाजी गरिदिए । तर, झुठ धेरै कहाँ टिक्न सक्थ्यो र ! युद्धमा अपांग भएको कुरा परिवारले धेरैपछि थाहा पाए । छोराको अवस्था देखेर भक्कानिएका परिवारसँगै रोए दीपचन्द पनि । दीपचन्दले हात–खुट्टा गुमाउँदा श्रीमती २१ वर्षकी थिइन् । कलिलो उमेरमै अपांग छोराको अवस्था देखेर निराशिएका बुबाले भन्ने गर्थे, ‘छोरा सेनामा नगएको भए यस्तो हुँदैनथ्यो कि !’ अपांग भएपछि उनी सेवा निवृत्त (रिटायर्ड) भए । ‘कुनै कुर्सी र कार भाँचिएपछि या खराब भएपछि त्यसलाई साइड लगाइन्छ । मेरो जीवनमा पनि त्यस्तै भयो ।
आफ्नो कृत्रिम खुट्टा घुँडाबाट छुट्याउँदै भन्छन्, ‘२० वर्षदेखि म यसरी जीवन बिताइरहेको छु । शुरुमा सोच्ने गरेको थिएँ, किन बाँच्नु ! तर जब म अरूको लागि बाँच्न थालेँ अनि जिन्दगी पहिलेको भन्दा राम्रो हुन थाल्यो ।’ दीपचन्दको घरको एक कोठामा ‘वार–मेमोरियल’ का तस्बिरहरू राखिएको छ । जुन तस्बिरमा कारगिलका हिरोहरूलाई कैद गरिएको छ । त्यही युद्धको तस्बिरसँगै छ, उनको विवाहको तस्बिर । तस्बिरमा सग्लो शरीर थियो । झुण्डिएका तस्बिरमा उनी दुई वटै खुट्टामा उभिएका छन् । तर, अब त्यो तस्बिर उनका लागि एकादेशको कथाजस्तै भैदिएको छ ।
‘त्यो विवाह भएको दिनलाई कसरी भुल्न सक्छु होला र! नयाँ वैवाहिक जोडीहरूको आ–आफ्नै चाहना हुन्छ तर, मेरो त्यस्तो भएन’, तस्बिर देखाउँदै उनले भने, ‘तर, अहिले पनि म आफूलाई फूर्तिलो राख्छु ।’
‘आदर्श सैनिक फाउण्डेशन’को स्थापना
सेनाबाट रिटायर्ड भएपछि उनको सबै खर्च औषधि–उपचारमा सक्कियो । तर, तीन सन्तानको पढाइ खर्च पनि उठाउनुपथ्र्यो । जब दीपचन्दको दुर्घटना भयो, त्योबेला एक छोरा डेढ वर्षका थिए । श्रीमान्को त्यस्तो अवस्थापछि श्रीमतीले काम शुरु गरिन् । र, दीपचन्दले पनि ‘क्यान्टिन’ चलाउन थाले । श्रीमान्–श्रीमतीको कमाइले पनि घरको अवस्था सुध्रिन सकेको थिएन । तर, त्यहीबेला अर्को घटना भयो । क्यान्टिनमा आगो लाग्यो । पूरै सामान जलेर खरानी भयो । आफ्नो आँखाअगाडि कमाइ खाने भाँडो जलिरहँदा त्यही आगोमा झोसिने सोच पनि पलाइरहेको थियो उनमा तर सकेनन् । जीवन उनको मात्रै थिएन, सिंगो परिवारको थियो । आफूले चलाइरहेको क्यान्टिन खरानी भएपछि ‘आदर्श सैनिक फाउण्डेशन’ स्थापना गरे ।
सन् २०२१ सालदेखि सञ्चालित त्यही संस्थाबाट उनले युद्धमा शहीद भएकाहरूको परिवार र अंगभंग भएका सैनिकहरूको परिवारलाई आर्थिक रूपमा सहयोग गर्दै आइरहेका छन् । उनका अनुसार सेनाबाट रिटायर्ड हुनेले पेन्सनबाहेक केही पाउँदैनन् । ‘त्यो पैसाले न परिवारको खर्च पुग्छ न त छोराछोरी पढाउन नै । यही कुरा सोचेर संस्था स्थापना भयो । अहिले हामीसँग त्यस्ता धेरै मानिस छन्, जो शहीद र घाइते भएका सैनिकहरूको परिवारलाई पाल्न तयार छन्’, सयौँ सैनिकहरूको परिवार पाल्न खटिरहेका उनी भन्छन्, ‘यसरी सहयोग गर्न पाउँदा अहिले पनि सेनामै छु जस्तो लाग्छ ।’ कुनै बेला शरीरका सग्ला अंगहरूले हलक्क हुँदै युद्धमा होमिएका दीपचन्द अहिले कृत्रिम खुट्टाको सहारामा हिँड्छन् । एउटा हात गुमाएका छन् । तर, कुनै पछुतो छैन । बरु उनी त अर्को जन्ममा पनि फेरि एकपटक सैनिक बन्न चाहन्छन् ।
टिप्पणीहरू