मन्त्रीको कार्यकक्षमा सचिव 'फायर'
मन्त्रीहरु आफ्नो हैसियतमा नरहँदा कार्यसम्पादन मात्र कमजोर नभई असन्तुष्टि पनि चुलिँदो रहेछ । अस्ति सोमबार दिउँसो सामान्य प्रशासनमन्त्री अनितादेवी साह र मन्त्रालयका सचिव विनोदप्रकाश सिंहबीचको तनावको प्रसंग हो यो ।
मन्त्रीमाथि सुब्वा र खरिदार सरुवाजस्ता सामान्य काममा मात्र अल्झिने गरेको आरोप लाग्दै आएको छ । त्यस्तै एउटा सरुवाको सन्दर्भमा सचिवसँग उनको कार्यकक्षमै ‘झोकाझोकी’ चलेको हो । विगतदेखि नै मन्त्री साहको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका सचिव सिंहले त्यसदिन मुखै फोरेर भनिदिए, ‘मन्त्रीको हैसियत के हो ? हजुरले बुझ्नु भएकै छैन । हजुर नीतिगत निर्णय लिने ठाउँमा हुनुहुन्छ । सामान्य काममा अल्झिनु भएन । "
सरकारले बनाएका नीति कार्यान्वयन गर्न कर्मचारीहरु सक्षम रहेको भन्दै उनले सरुवा-बढुवामा मात्रै मन्त्रीले समय खर्चिंदा मन्त्रालयको कार्यसम्पादन कमजोर हुनेतर्फ पनि ध्यानाकर्षण गराए । तर, मन्त्री साहलाई यस्तो कुरा चित्त बुझेन । तत्काल प्रतिवाद गर्दै उनले भनिन्, 'तपाईहरुले मलाई सहयोग गर्नुभएन । असफल बनाउन लाग्नुभयो । यस्तै हो भने म आफ्नो कदम चाल्छु ।'
पहिलो पटक मन्त्री भएकी अनिताले कर्मचारी सरुवालाई बढी प्राथमिकता दिएको मन्त्रालयका कर्मचारीहरुको बुझाई छ । ऐन, नियम तथा कार्यविधिले सहसचिवस्तरको आन्तरिक सरुवाको फाइलबाहेक अन्यमा सदर या निर्णय गर्ने कुनै अधिकार नरहेको ख्याल मन्त्री साहले नगरेको सामान्य प्रशासनका कर्मचारीहरु बताउँछन् ।
‘मन्त्रीको हैसियत के हो ? हजुरले बुझ्नु भएकै छैन । हजुर नीतिगत निर्णय लिने ठाउँमा हुनुहुन्छ । सामान्य काममा अल्झिनु भएन ।"
कर्मचारी योग्यता, क्षमता तथा आवश्यकताका आधारमा उनीहरुलाई कहाँ ‘फिट’ गर्ने भन्ने निर्णय मन्त्रालयको कर्मचारी महाशाखाले गर्छ । तर, मन्त्रीले पार्टी अध्यक्ष सिके राउतको निर्देशनमुताविक कर्मचारी चलाउन खोज्दा सरुवा प्रक्रिया नै लथालिङ्ग भैरहेको बताइन्छ ।
यता, अमुक कर्मचारीलाई आफूले भनेकै ठाउँमा सरुवा वा पदस्थापन गराउने उनको दबाबले हैरान छन् सचिव सिंह । गृह मन्त्रालयबाट सामान्यमा आएका अनुभवी प्रशासक उनको हालसम्मको पोश्टिङ गणना गर्दै जाँदा यो ३७ औँ हो । त्यसकारण आफ्ना अनुभव मन्त्रीसँग शेयर गर्दा त्यसदिन झोकाझोकी परेको हो ।
'नाच नजान्ने, आँगन टेडो’ भनेझैं मन्त्री साह चैं कर्मचारीबीच समन्वय र समझदारी गर्नुको साटो 'सचिवले मेरो कुरा मान्दैन' भन्दै हिँडेकी छन् । उनले संसदको राज्य व्यवस्था समितिका सभापति र अन्य सांसदलाई सचिव सिंहले आफ्नो निर्देशन नमानेको गुनासो समेत गर्न भ्याइसकेकी छन् । उनले संसदीय समितिको बैठक शुरु हुनुअघि आफूलाई 'सचिवलाई सम्झाइबुझाइ गरिदिन पर्यो' भनेको एक सांसदले जनआस्थालाई बताए । जबकी तीनै सांसदले सचिव सिंहलाई सहज र समन्वयकारी प्रशासक मानेका छन् ।
यस अगाडिका मन्त्री अमनलाल मोदी र तत्कालिन सचिव कृष्णहरि पुष्करबीच पनि यस्तै विवाद थियो । तर, पछि ऐनले नै कर्मचारी सरुवामा मन्त्रीलाई अधिकार नदिएको बुझेपछि उनी सहज ब्याक भएका थिए ।
कर्मचारी सरुवासम्बन्धी नियमावलीको व्यवस्था हेर्दा सहसचिवको अन्तरमन्त्रालय सरुवामा बाहेक मन्त्रीको निर्णय आवश्यक नै पर्दैन । मन्त्रलयको उपसचिवको सरुवाको निर्णय सचिवले गर्न सक्छ । शाखा अधिकृतको सरुवा कर्मचारी प्रशासन महाशाखाका प्रमुख तथा सहसचिवले गर्ने हो । खरिदार सुब्बा लगायतका कर्मचारीको सरुवाको निर्णय महाशाखाकै तोकिएका उपसचिवले गर्ने नियमावलीमा व्यवस्था छ ।
यति कुरा मन्त्रीले बुझिदिए सरुवा सम्बन्धी मन्त्री र सचिवको विवाद स्वत: समाधान हुन्छ ।
टिप्पणीहरू