चौधरीको चाँदबाग अगाडि मूर्दावादको नारा
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको विरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।
आज बाँसबारीस्थित चाँदबाग स्कूल नजिकै क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले चौधरी समूहले गैरकानूनी रूपमा हडपेको १० रोपनी जग्गामा संचालित सिजी चाँदबाग स्कूललाई राष्ट्रियकरण गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए ।
क्रान्तिकारीका विद्यार्थीहरुले 'कब्जा गरेको सरकारी जमिन फिर्ता गर', 'भूमाफियाहरु मूर्दावाद', 'सिजी एजुकेशन फाउन्डेसनद्वारा संचालित चाँदबाग स्कूललाई तत्काल राष्ट्रियकरण गर', जस्ता नारा लगाएका थिए ।
आजभन्दा ३७ वर्षअघि कारखानाको जग्गा कांग्रेस सांसदसमेत रहेका विवादास्पद व्यापारी विनोद चौधरीले आफ्नो नाममा ल्याएको ठगी प्रकरण हालै सार्वजनिक भएको छ । सो जग्गामा शुरुमा च्याम्पियन फुटवेयर कम्पनी, त्यसपछि चाँदबाग रेसिडेन्सी र अहिले चाँदबाग स्कूल सञ्चालित छ ।
सरकारी जमिन हिनामिना भएको यस घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विनोदका भाइ अरुण चौधरीसहित ३ जनालाई पक्राउ गरेकोमा अदालतको आदेशले उनीहरु छुटिसकेका छन् ।
त्यसबेला राजदरबारसँग साँठगाँठ गरेर सार्वजनिक जग्गा हडपेका चौधरीलाई अहिले त्यसैगरी सेटिङ मिलाएर उम्क्याउने चलखेलको आशंका भैरहँदा विप्लवका विद्यार्थीहरुले चाँदबाग छेउमै पुगेर 'मूर्दावाद' को नारा लगाएका हुन् ।
टिप्पणीहरू