चरम विवादले रोकिएको एमाले अधिवेशन जनयुध्द दिवस पारेर सुचारु
कुटाकुटपछि रोकिएको एमाले धादिङ जिल्ला अधिवेशनको बाँकी प्रक्रिया पर्सि १ गतेदेखि सुचारु हुने भएको छ । अधिवेशनमा ‘मसल’ प्रयोग भएको आरोपपछि जिल्ला कमिटी चयनको विवाद केन्द्रसम्म आइपुगेको थियो ।
विवादमा संलग्न दुबै पक्षका नेतालाई अध्यक्ष केपी शर्मा ओलीले बोलाएर भेटेका थिए । अधिवेशन स्थगित गरेर बाग्मती प्रदेशका इञ्चार्ज,अध्यक्ष र जिल्ला अध्यक्षसहितका नेताहरु अघिल्लो साता राजधानी आई नेतृत्वसामु बेलिबिस्तार लगाएका हुन् ।
त्यसपछि रोकिएको अधिवेशनको अवस्था बुझ्न गत सोमबार दुई जना केन्द्रीय नेता काठमाडौंबाट सदरमुकाम धादिंगबेसी पुगे । भानुभक्त ढकाल र माधव ढुंगेललाई अवस्थाको सविस्तार जानकारी लिन त्यता पठाइएको थियो ।
केन्द्रीय प्रतिनिधिमण्डललाई जिल्लाका एकथरी नेताहरुले कमिटी गठनमा अधिकतम लचकता अपनाउँदा पनि अर्को पक्षले भाँजो हालेको जानकारी दिए । उनीहरुका अनुसार सहमतिको लागि पूर्वअध्यक्ष भूमि त्रिपाठीले कमिटीमा चार जनाको नाम समावेश गरेका थिए । पछि थप सहमति हुँदा अरु चार जनाको नाम राखेर आठ जना पुर्याउँदा पनि उनीहरुको माग जारी भएपछि अवस्थाले अर्कै मोड लिएको बताइन्छ ।
जनसंगठनको तर्फबाट प्रतिनिधिको मापदण्ड र वर्गिकरणबमोजिम गर्नुपर्ने कुनै बाध्यकारी अवस्था नभएकाले आयोजक समितिको तजबिजमा गरिएको निर्णयलाई अर्को पक्षले नमानेको संस्थापन पक्षको भनाई छ । ढुंगेल र ढकालले दुबै पक्षको धारणा,त्यहाँको अवस्था बुझेर फर्केपछि केन्द्रलाई रिपोर्टिङ गरिसकिएको बताइन्छ ।
त्यसपछि भानुभक्त नेतृत्वको टोलीले धादिङ जिल्ला कमिटी गठनमा मुख्य समस्या अध्यक्ष ओलीका पूर्व पिए डा.रमेश आचार्यलाई ठहर गरेको बुझिएको छ । बालकोटको हवाला दिएर ग्राण्ड डिजाइन गरिएको तथ्य उजागर भएसङ्गै रमेशसँग स्वयम् बालकोट पोजिटिभ नभएको बताइन्छ।
आफ्नो ग्राण्ड डिजाइनमा उनले गुरु बराल र कैलाश ढुङ्गेलको आडमा रिपोर्टिङ्ग गराएर माहौललाई प्रभावमा पार्ने कोशिस गरेको त्रिपाठी निकटस्थहरुको भनाई छ । उक्त वास्तविकता खुुलेपछि स्थगित अधिवेशन फागुन १ गते थाल्न केन्द्रले निर्देशन दिएको छ ।
पछिल्लो पटक सहमति गरेर प्रक्रिया अघि बढाउने नाममा भूमिलाई केन्द्रीय सदस्य र डा.रामप्रसादलाई अध्यक्ष बनाउने भन्ने अर्को पक्षको प्रयासमा बालकोट सकारात्मक देखिएको छैन । बालकोटले अधिवेशन अघि सम्भव भएसम्म र उपयुक्त विकल्प खोज्न सक्ने बताएको थियो । विकल्पको रुपमा अघि सारिएका डा. रामप्रसादप्रति पनि बालकोट विश्वस्त नदेखिएको बताइन्छ ।
खेम लोहनी र रमेशहरुले रामप्रसादलाई उचालेको एकथरीको आरोप छ । भूमिले पहिलेदेखि बालकोटलाई सहयोग गरेको र चुनाव हुने अवस्था उत्पन्न भएमा पनि उनलाई हराउन नसकिने भएपछि विकल्प खोज्नेहरु पनि पछाडि हटेको अनुमान लगाइएको छ ।
यता बालकोटले पनि ‘सके सहमति गर्नु,नसके चुनावमा जानु । कसैलाई वचन दिइएको छैन, जित्नेलाई हार्नेले सहयोग गर्ने हो,’ भन्ने मेसेज दिएपछि अहिले धादिंग एमालेको अवस्था केही मत्थर भएको मानिन्छ ।
अधिवेशनको बन्दसत्रमा प्रतिनिधिको मापदण्ड र अध्यक्षमण्डलको अध्यक्षता कसले गर्ने भन्ने विषयमा शुरु भएको विवाद भूमि त्रिपाठीलाई रोक्न प्रदेश अध्यक्ष कैलाश ढुंगेलले हस्तक्षेप गरेपछि चर्किएको एउटा पक्षको आरोप छ ।
तर,कैलाशले कुटाकुट भएपछि विज्ञप्ति निकालेर त्रिपाठीले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय गर्न खोजेको आरोप लगाएका थिए । प्रदेश अध्यक्षको विज्ञप्तिलाई काउन्टर दिँदै त्रिपाठीले भने अधिवेशन नरोकिएको बताए । यस्तै तानातानवीच स्थगित अधिवेशन पर्सिदेखि पुनः सुचारु हुन लागेको हो ।
टिप्पणीहरू