बाटोका निम्ति प्रधानमन्त्री र माधवको भेट

बाटोका निम्ति प्रधानमन्त्री र माधवको भेट

प्राय: राजनीतिक समीकरण र भागबण्डाबारे छलफल गर्ने सत्ता गठबन्धनका प्रमुख दुई नेताबीच आज सडक विस्तारका लागि बजेट छुट्याउनेबारे कुराकानी भएको छ । 

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसङ्ग रौतहटको गौर-चन्द्रपुर सडक स्तरोन्नतिका लागि पर्याप्त बजेट सुनिश्चितता गर्ने विषयमा छलफल गर्नुभएको हो । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको सो सडक विस्तारमा सरकारले पर्याप्त बजेट नदिएको नेपालको गुनासो रहँदै आएको छ । 

त्यसैबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन उहाँ बालुवाटार पुग्नुभएको बताइएको छ । बहुवर्षीय योजनामा काम गर्नेगरी उक्त सडकका लागि ५ अर्ब बजेट सुनिश्चित गर्नुपर्ने माग अध्यक्ष नेपालको रहँदै आएको छ । तर, आगामी बजेटको तयारी चलिरहँदा सो सडकका लागि ३ अर्ब मात्र सुनिश्चित गर्ने बुझेपछि उहाँ प्रधानमन्त्री प्रचण्डसँग गुनासो पोख्न पुग्नुभएको हो । 

सरकारले अघिल्लो वर्ष गौर-चन्द्रपुर सडक स्तरोन्नति र विस्तारका लागि ७५ करोड विनियोजन गरेको थियो ।
 

टिप्पणीहरू