गृहमन्त्रीलाई प्रश्न– विनोद चौधरीमाथि किन अनुसन्धान भएन, एमाले उपाध्यक्षका छोरा कहाँ छन् ?

सुन्नुहोस्

बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीलाई अनुसन्धान नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चर्को असन्तुष्टि जनाएका छन् । 

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यसबारे प्रश्नसमेत गरे । बाँसवारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै विनोदको पनि शेयर देखिएको भन्दै रविले उनलाई किन अनुसन्धान नगरिएको भनेर प्रश्न गरेका हुन् । अनुसन्धानको दायरामा राखेर विनोदको बयान नलिएकोमा उनले असन्तुष्टि पोखे । 

‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केहीदिन अगाडि हिरासतमा राखिएको देखियो । जग्गा हडप्दा चौधरीकै जति शेयर भएका अन्य साझेदारहरुमध्ये सत्तारुढ दलका सांसद विनोद चौधरीको पनि देखिएको छ । तर, अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ?’, रविको प्रश्न छ ।  

त्यस्तै, नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका फरार छोरा प्रतिक पक्राउ नपरेकोमा पनि रविले प्रश्न उठाए । सोही काण्डमा पक्राउ पूर्जी जारी भएपछि भागेका इन्द्रजित राईका छोरा निरजबारे पनि उनले गृहमन्त्रीसँग प्रश्न गरे ।

भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहेका बेला विचौलियाहरुले पूर्वगृहमन्त्री रामबहादुरकी श्रीमती तथा एमाले सांसद नैककला थापाको पनि नाम पोलेको उल्लेख गर्दै उनले अनुसन्धान भए–नभएको जानकारी गराउन पनि माग गरे । 

’पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापाबारे केही पत्ता लाग्यो कि लागेन ? इन्द्रजित राईका फरार रहेका छोरा निरजबारे केही पत्ता लाग्यो कि लागेन ?’, रविले सोधे, ’पत्ता लगाउन के–के प्रयास भयो ? मुद्दा चलिरहेका विचौलियाहरुले नाम पोलेका पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमति नैनकला थापाको अनुसन्धानबारे के भयो ? यसबारे पनि केही अपडेट छन् भने अपडेट दिनुहोला ।’

टिप्पणीहरू