प्रधानमन्त्रीलाई मागपत्र बुझाएपछि राप्रपाको विरोध प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित विभिन्न मागसहितको पत्र आगामी बुधबार बुझाउने तयारी गरिएको छ ।
पार्टी अध्यक्ष एवम् आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशमशेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सो दिन प्रधानमन्त्रीसँगै हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई मागपत्र बुझाउने निर्णय गरेको छ ।
त्यस्तै, सोही दिन काठमाडौंमा विरोध प्रदर्शन गरिने पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार उपत्यका बाहिरका ७४ जिल्लामा पनि सोही दिन प्रदर्शन गरिने छ । बैठकमा परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु, उपत्यकाका जिल्ला अध्यक्षहरु, भ्रातृ संगठनका प्रमुखलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू