धादिङ एमालेमा भूमि त्रिपाठीको प्यानल विजयी
धादिङ एमालेमा ओली पक्ष भन्नेलाई धक्का संघीय राजधानी काठमाडौंसँग जोडिएको जिल्ला धादिङमा नेकपा एमालेको जिल्ला कमिटी चयनको निम्ति भएको मतदानको परिणाम प्राप्त भएको छ । निवर्तमान अध्यक्ष भूमि त्रिपाठी ३०९ मतका साथ अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी रामकुमार अधिकारीले ७१ मत कम अर्थात २३८ मत ल्याएका छन् ।
केहीबेर अघि सम्पन्न मतदानको प्रारम्भिक अनुमानमा पनि त्रिपाठी नै दोहोरिने सम्भावना प्रबल थियो । दुई कार्यकाल उपाध्यक्ष रहिसकेका थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उपाध्यक्षमा त्रिपाठीको समूहलाई धक्का दिनसक्ने केही प्रतिनिधिले बताएका थिए । अर्जुन गोर्खाली उनलाई हराउँदै उपाध्यक्षमा आएका छन् । आचार्य एमाले अध्यक्ष केपी शर्मा ओलीको विगतमा पिए बसेका डा. रमेशका बुबा हुन् ।
गोर्खालीले ३१५ मत ल्याएका छन् । सचिव पदमा सबैभन्दा धेरै मतान्तर भएको बताइन्छ । दुई साताअघि आयोजित अधिवेशनको बन्द सत्रमा मतदानको प्रक्रिया प्रारम्भ अगावै दुई पक्षबीच भएको आरोप प्रत्यारोप र विवाद हात हालाहालको अवस्थामा पुगेपछि रोकिएको थियो । स्थगित अधिवेशन अस्तिदेखि थालिए पनि मतदान प्रक्रिया आज बल्ल भएको हो । आज १५ वटा विद्युतीय मेशिनबाट मतदान गराइएको थियो ।
पुनः अधिवेशन सुचारु गर्नुअघि भएको सहमतिमा संगठन विभागले पहिलेको भन्दा १० जनाको विशेष कोटा थपिदिएको थियो । उक्त निर्णयपछि मात्रै विवादमा देखिएको अर्को पक्ष निर्वाचनमा सहभागी हुन तयार भएको हो ।
धादिङ एमालेका पुराना नेताहरु मीनराज कँडेल, देवप्रसाद त्रिपाठी,खेम पाठकहरु भूमिको पक्षमा खुलेर लागेका थिए । खेम लोहनी र जानुका सिंखडाहरु भने आचार्यको पक्षमा देखिए ।
टिप्पणीहरू