अदालतले सुविधा रोक्दा पूर्वमुख्यमन्त्री आगो

अदालतले सुविधा रोक्दा पूर्वमुख्यमन्त्री आगो
सुन्नुहोस्

उच्च अदालत, सुर्खेतले सेवासुविधा कटौती गरिदिएपछि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । कर्णाली प्रदेश सरकारले उनलाई सुविधा दिनका लागि गरेको निर्णयमा उच्चले कारण देखाऊ आदेश जारी गरेपछि शाहीले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस् लेखेका हुन् । 

आफूले सुविधा नपाएको झोकमा रहेका उनले काँग्रेस सरकारबाट बाहिरिँदा उपयुक्त हुने बताएका छन् । उनले लेखेका छन्,‘यो अराजकताको अवस्थाबाट कर्णालीमा काँग्रेस सरकारबाट बाहिरहनु उपयुक्त हो । सोहीबमोजिम काँग्रेसबाट सहभागी मन्त्रीहरुले व्यवस्थापन गर्दा राम्रो होला ।’ सर्वत्र विरोध भएपछि उनले उक्त स्टाटस् सामाजिक सञ्जालबाट हटाएका छन् । 

गत पुस २५ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले शाहीलाई पूर्वमुख्यमन्त्रीको हैसियतले एउटा गाडी, एउटा चालक, मर्मत खर्च र मासिक दुई सय लिटर इन्धन दिने निर्णय गरेको थियो । आर्थिक मामिला तथा कानुन मन्त्रालयले पनि मन्त्रिपरिषद्को सो निर्णयलाई कार्यान्वयनमा ल्याउन प्रक्रिया अघि बढाइसकेको थियो । 

त्यसको विरोधमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने अधिवक्ता खगेन्द्रबहादुर खनालले उच्चमा रिट निवेदन हालेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र शाहीको सचिवालयलाई विपक्षी बनाएर हालिएको रिट निवेदनमा सो निर्णय संविधानको मर्मविपरीत भएको उल्लेख छ । 

नेपालको संविधान र ‘कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५’ मा पूर्वमुख्यमन्त्रीहरुलाई कुनैपनि सुविधा दिने विषय उल्लेख नभएको बताउँदै उनले निर्णय खारेजीको माग गरेका छन् । उच्चका न्यायाधीश सागर विष्टको एकल इजलाशले गत फागुन २ गते कारण देखाऊ आदेश जारी गरेको हो । 

भनिएको छ,‘निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै कारण भए सो खुलाई बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नम्बर १–४ सम्मको हकमा मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेश सुर्खेतमार्फत र विपक्षी नम्बर ५ को हकमा आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नुहोला भनि प्रस्तुत आदेश र निवेदनपत्रको प्रमाणित प्रतिलिपिसहित विपक्षीहरुका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ पेश भएपछि वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु ।’


 

टिप्पणीहरू