भत्किएको गठबन्धन राष्ट्रपतीय निर्वाचनपछि बलियो भएको काँग्रेस महामन्त्रीको ठहर

भत्किएको गठबन्धन राष्ट्रपतीय निर्वाचनपछि बलियो भएको काँग्रेस महामन्त्रीको ठहर
सुन्नुहोस्

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावपूर्वको गठबन्धनले पार्टीमा असन्तुष्टि बढाएपनि संस्थागत निर्णय सबैले मान्नुपर्ने बताएका छन् । 

महासमिति बैठकमा पेश गर्नुपूर्व छलफलका लागि केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेको उनको राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । महामन्त्री शर्माले गठबन्धनलाई ‘फरक मतको चुनौतीपूर्ण सहकार्य’ का रुपमा समीक्षा गर्दै असन्तुष्टिसँगै उपलब्धि पनि हासिल भएको बताए । 

‘अघिल्लो प्रतिनिधिसभाको विघटनपश्चात् संसद र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू अन्ततः गत निर्वाचनमा समेत हामी एक भएर मैदानमा गयौं । पृष्ठभूमि र वैचारिक धार हाम्रो भिन्न थियो र छ, त्यसैले चुनावमा ‘प्री पोल एलायन्स’ हुनु सहि या गलत भन्ने दुईथरी मतबीच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौं । त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौतीपनि बढेका छन्’, गठबन्धनबारे प्रतिवेदनमा छुट्टै शीर्षक राखेर उनले ब्याख्या गरेका छन् । 

गठबन्धनमा ‘भोट ट्रान्सफर चुनौतिपूर्ण भए पनि त्यसैको बलमा काँग्रेस तीनै तहको निर्वाचनमा पहिलो दल भएको शर्माको ठहर छ । गठबन्धनबाट प्राप्त गणितको समीक्षा उपशीर्षकमा उनको थप व्याख्या छ, ‘निर्वाचनमा भोट ट्रान्सफर’ को विषय निश्चयनै चुनौतीपूर्ण विषय थियो । तर ०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस तीनवटै तहमा पहिलो दलका रूपमा स्थापित हुनुमा गठबन्धनको महत्वपूर्ण योगदान रह्यो ।’

तीनवटै तहमा काँग्रेसले पहिलो स्थान हासिल गर्नुमा गठबन्धनका सहयात्रीहरुको जोडबलले थियो भन्ने तथ्य बिर्सन नहुने उनको धारणा छ । ’अहिले तत्काल हामी जुन गठबन्धनमा छौं त्यो आगतको सम्झौता होइन, विगतले बोकाएको अभिभारा हो । अतः त्यसमा निरन्तरता चाहँदा हामीबीच अलमल या अस्पष्टता होईन सुस्पस्ट प्रतिबद्धता जरुरी हुन्छ’, प्रतिवेदनमा लेखिएको छ  ।

निर्वाचनमा गठबन्धन गर्नेबारे दुई सुक्ष्म चिन्तन देखिएको पनि महामन्त्री शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । काँग्रेसका परम्परागत मतदाताले अन्य चिन्हमा मत दिन पार्टीले गरेको आग्रह नरुचाएको र समानुपातिकतर्फ ०७४ को तुलनामा पछिल्लो निर्वाचनमा करिब ७ प्रतिशत मत गुमाउनुको वास्तविक कारण खोज्नुपर्नेमा उनले जोड दिएका छन् । 

प्रतिवेदनमा निर्वाचन आउनु चार वर्ष अघिनै छलफल गर्नु आवश्यक नभए पनि गठबन्धनबारे पार्टीमा उठेका दुइथरी मतलाई सुरक्षित राखेर उपयुक्त समयमा निर्णयमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । 

गत वर्ष पुस १० गते अनपेक्षित रुपमा भत्किएको गठबन्धन राष्ट्रपति निर्वाचनमा पुग्दै गर्दा पुनः ‘ट्रयाक’ मा फर्किएको सन्दर्भ उल्लेख गर्दै शर्माले गठबन्धनप्रति सबै दल प्रतिबद्ध थिए भन्ने कुरा यसले प्रष्ट पार्ने बताएका छन् । आपसी द्वन्द्व या असावधानी हुँदा गठबन्धन जोखिममा परेको तर, संयम र

परिपक्वताको मार्गबाट पुनः ब्युँतिएको उनको ठहर छ । फेरि पनि जोखिमको अवस्था आउन नदिन ठूलो दल भएका नाताले काँग्रेसले विशेष सतर्कताका साथ् जिम्मेवारी लिनुपर्ने उनको जोड छ । 

‘एकल बहुमत कसैको पनि नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा हाम्रो छ’, गठबन्धन : जोखिम र आवश्यकता उपशीर्षकमा व्याख्या गरिएको छ ।

शर्माको प्रतिवेदनमा कोशी प्रदेशमा मुख्यमन्त्री चयनदेखि राष्ट्रिय सभा निर्वाचन परिणामले गठबन्धनका दलहरुबीच आपसी अविश्वास पैदा गरेको पनि उल्लेख गरिएको छ । ‘कोशी प्रकरण ः गठबन्धनमा उब्जिएको प्रश्न’ को व्याख्यामा शर्माले भनेका छन्, ’कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रती असन्तोष प्रकट गरेको स्थिति छ, यो घटनाक्रमलाई गम्भीर समिक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ ।’

मुख्यमन्त्री निर्वाचनका बेला कोशीको घटनाक्रमले काँग्रेसभित्र द्वन्द्व सृजना भएको र राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा समस्या बल्झिएको प्रतिवेदनमा उल्लेख छ ।

टिप्पणीहरू