एमालेको अवधारणाले समाजवाद आउने अध्यक्ष ओलीको दाबी

सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबीको अन्त्य गरेर मात्रै समाजवादमा पुगिने बताउनुभएको छ । 

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो । अध्यक्ष ओलीले  ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो पनि भन्नुभयो । 

एमालेले नेपालमा समाजवाद स्थापनाका लागि उक्त अवधारणालाई अघि सारेको उल्लेख गर्दै उहाँले त्यसका लागि गरिबीबिरुद्धको लडाइँमा सफलता हासिल गर्नुपर्ने बताउनुभयो । आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको र त्यसले पूर्णता: पाए समाजवाद आउने ओलीको भनाई छ । 

नेपालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेकुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुको जोड रहेको ओलीले बताउनुभयो । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभुत बनाएर लैजानुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो ।

‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो । हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ', पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ' हामी प्रतिवद्ध छौँ–समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि । समृद्ध नेपालः खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिबीविरुद्धको लडाईमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’

राष्ट्रिय हित, पारस्पारिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा एमाले दृढ रहेको कार्यकर्तालाई उहाँले सुनाउनुभयो ।

टिप्पणीहरू