काँग्रेससँगको सहकार्य वर्ग आत्मसमर्पणवादी बाटो : झलनाथ खनाल

सुन्नुहोस्

नेपाली काँग्रेससँगको सहकार्यलाई लिएर नेकपा एकीकृत समाजवादीभित्र विवाद चुलिएको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वर्तमान सत्ता गठबन्धनलाई हेर्ने दृष्टिकोणका कारण सिङ्गै पार्टीमा विवाद बढेको बताइन्छ । 

अध्यक्ष नेपालले गठबन्धन पाँचै वर्ष जाने दाबी गर्दै आउनुभएको छ । तर, खनालका अभिव्यक्ति भने ठ्याक्कै विपरित देखिन्छन् । यसैबीच पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आज सार्वजनिक मञ्चबाट काँग्रेससँग गठबन्धन गर्ने नीति सच्याउनुपर्ने धरणा राख्नुभएको छ । 

पार्टीले वर्ग आत्मसमर्पणवादी बाटो लिएको बताउँदै खनालले आगामी राष्ट्रिय महाधिवेशनले त्यसलाई सच्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ’प्रधान प्रतिद्वन्दीसँग कुनै मोर्चा बन्दैन । यदि बनाइयो भने त्यो गलत हुन्छ । त्यो वर्ग समन्वय हुन्छ । त्यसले वर्ग संघर्ष गर्ने होइन, वर्ग समन्वय गराउँछ ।’ 

पार्टीबाट श्रमजीवी वर्गबाट टाढा पुर्याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउनुको विकल्प नहुने उहाँको भनाई छ । अहिले हामी हाम्रो श्रमजीवी वर्गबाट जसरी टाढिएका छौं नि । परिणाम त्यही हो । हो, यही कुरालाई सच्याउन हामीले राष्ट्रिय महाधिवेशनमा सच्याउन सक्नुपर्छ’, खनालको जोड छ, ’राष्ट्रिय महाधिवेशनका सामु धेरै गम्भीर महत्वका कार्यभारहरु छन् । ती कुरालाई ध्यान राखेर हामीले अगाडि बढ्नुपर्छ । ’

तत्काल वामपन्थीहरुबीच एकता सम्भव नभएपनि कार्यगत एकताको सम्भावना भने रहेको खनालको भनाई छ ।
 

टिप्पणीहरू