विपक्षीद्वारा भौतिक मन्त्रीलाई निलम्बन गर्न माग

विपक्षीद्वारा भौतिक मन्त्रीलाई निलम्बन गर्न माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका विपक्षीहरुले भौतिक पूर्वाधार तथा यातया मन्त्री प्रकाश ज्वालालाई तत्काल निलम्बन गर्न माग गरेका छन् । 

आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले र रास्वपाका सांसदहरुले मन्त्री ज्वालाको राजइनामा मागेका हुन् । एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरे ।

त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेले दोषी देखिँदा पनि मन्त्री ज्वालाले राजीनामा नदिएको भन्दै आपत्ति जनाए । ‘छानबिन समितिले भौतिकमन्त्री नै दोषी देखिएको स्पष्ट पार्यो । यो स्पष्ट भइसक्दा पनि न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गर्नुभएको छ । न सरकार, न प्रधानमन्त्रीले कुनै छनक देखाउनुभएको छ'. उनले भने ।

सरकारकै छानबिन समितिले दोषी देखाउद्या पनि मन्त्री ज्वालालाई भाषण गर्दै हिँड्ने नैतिकता कहाँबाट आउँछ? भन्दै लामिछानेले प्रश्नसमेत गरे। 

गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको थियो । उक्त घटनाको छानविन गर्न सरकारले समिति गठन गरेको थियो । समितिले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । 

प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी ठहर गरिएको दाबी गर्दै एमाले र रास्वपाले उनको राजीनामा मागेका हुन् । राजीनामा नदिए प्रधानमन्त्रीले निलम्बन गर्नुपर्ने यी दुई दलको माग छ।

 

टिप्पणीहरू