राज्यको स्रोत निश्चित घरानामा केन्द्रित हुने अवस्था अन्त्य गर्नुपर्छ - प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न नीतिगत र कानूनी सुधार आवश्यक रहेको बताउनुभएको छ ।
त्यसका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनेक्रममा उहाँले निश्चित व्यक्तिको हातमा राज्यको स्रोत-साधन केन्द्रित हुने विद्यमान अवस्थालाई नीतिगत सुधारका माध्यमबाट अन्त्य गरिने प्रतिवद्धतासमेत जनाउनुभयो ।
मुलुकमा प्राप्त स्रोत–साधन सीमित घरानामा अधिक केन्द्रित हुँदा त्यसबाट विभिन्न प्रकारका जोखिम सिर्जना हुने साथै उक्त समूहले मात्र प्रतिफल पाउने भएकाले यस्तो अवस्थाको निराकरण गर्न बैंकिङ क्षेत्रमा एक व्यक्ति वा समूहले लिन पाउने कूल कर्जा सीमा तोकिएको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।
उहाँले उद्योगी–व्यवसायी घरानाले विभिन्न क्षेत्रमा लगानी गर्दा देशभित्र उत्पादन र रोजगारी बढाउन साथै आवश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
टिप्पणीहरू