रविलाई प्रधानमन्त्रीको जवाफ - कुर्सी हल्लिने डर भए छानविन नै शुरु हुँदैनथ्यो !

रविलाई प्रधानमन्त्रीको जवाफ - कुर्सी हल्लिने डर भए छानविन नै शुरु हुँदैनथ्यो !
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध कदम चाल्दा आफूलाई कुर्सी हल्लिने डर नभएको बताउनुभएको छ ।  

आज प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेक्रममा उहाँले सुशासन कायम गर्न आफू दृढ रहेको पनि स्पस्ट पार्नुभयो । 

यसअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै सरकार र प्रधानमन्त्रीको आलोचना गरेका थिए । लामिछानेले पनि ठूला भ्रष्टाचारका फाइल खुलेपछि तीन दलका नेताहरु बैठक बस्ने गरेको भन्दै प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएका थिए । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,  'कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'सम्मानित सदनमा म दोहर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो ।'

ठूला भ्रष्टाचारका काण्ड यहि सरकारले छानविन थालेको जनाउँदै कुर्सी जोगाउन चाहेको भए छानविन नै शुरु नहुने पनि प्रधानमन्त्रीको भानई छ । नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर गरेको प्रधानमन्त्रीले बताउनुभयो । 
 

अदालतमा धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत अनुसन्धान अघि बढाइएको उहाँले सदनलाई जानकारी गराउनुभयो ।

६० केजी सुन तस्करी प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अपराधको स्वरुप सङ्गठित प्रकृतिको देखिएपछि सिआइबील़ाई अनुसन्धान   गराएर अदालतमा मुद्दा दायर गरिएको बताउनुभयो । 

विमानस्थलबाट हुने सुन तस्करीको कारण र नियन्त्रणका उपायहरू पत्ता लगाउन र अपराधको जालो जरैबाट उखेल्न जाँचबुझ गरी प्रतिवेदन दिन उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अबैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन भइ काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।
 

टिप्पणीहरू