रविका पार्टनर सहकारी ठगविरुद्ध उजुरी आह्वान
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट भएको ठगीविरुद्ध प्रहरीले उजुरी मागेको छ । बुटवल प्रहरीले निक्षेप जम्मा गरेका सहकारी पीडित बचतकर्तालाई उजुरी दर्ता गराउन भनेको छ ।
बुटवलमा प्रधान कार्यालय रहेको उक्त सहकारी र सहकारीको सेवा केन्द्र भैरहवाका पदाधिकारी तथा व्यवस्थापकहरुमाथि संस्थाका शेयरधनी र बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोप छ । यस सम्बन्धमा मुद्दासमेत दर्ता भई अनुसन्धानको प्रक्रियामा रहेको जानकारी दिँदै प्रहरीले सहकारीका सेयरधनी तथा पीडित बचतकर्ताहरुलाई आफ्नो प्रमाणसहित (बचत पासबुक, सेयरको प्रमाणपत्र, नागरिकता) कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
त्यस्तै, बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपिसहित निवेदन दर्ता गराउन सकिने छ । प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई अस्ति नियन्त्रणमा लिएको थियो ।
सहकारीका संस्थापक अध्यक्ष एवम् संरक्षक जीबी राई भने बचतकर्ताको करोडौं रकम हिनामिनापछि फरार छन् । उनलाई पक्रन प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिसकेको छ ।
सहकारीले राई अध्यक्ष वा सञ्चालक रहेका विभिन्न पाँच कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो । उनी २०७८ सम्म उक्त सहकारीको अध्यक्ष र उपाध्यक्षको जिम्मेवारीमा थिए ।
रुपन्देहीलगायत आसपासका १० हजार ३९१ जनाको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको जनाउँदै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक रहेका बेला जीबीले उक्त रकम त्यता लगानी गरेको बताइन्छ । रकम डुबेपछि लामो समयदेखि बचतकर्ता सडकमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
टिप्पणीहरू