सवा दुई अर्ब छली यता, खाने डिजी उता

सवा दुई अर्ब छली यता, खाने डिजी उता

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा सवा दुई अर्ब रुपैयाँ तलमाथि गरिएको विषयबारे काठमाडौंमा छलफल शुरु भएको छ । महालेखा परीक्षकको कार्यालयमा पोखरा विमानस्थल निर्माणको क्रममा भएको अनियमितताबारे हिजो दिउँसो छलफल भएको थियो । 

संयोगवशः अनियमितताको आरोप लागेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी हिजै एकाएक सिंगापुरतर्फ प्रस्थान गरेका छन् । विमानस्थल निर्माणको क्रममा उनै अधिकारी मुख्य हर्ताकर्ता थिए । अधिकारीले तत्कालीन अर्थमन्त्री वर्षमान पुनसँग मिलेर भन्सार तिरेको देखाउँदै २ अर्ब २२ करोड हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ को बुँदा नम्बर ८९ र ६१२ मा अधिकारीले गरेको आर्थिक अनियमितासम्वन्धी विस्तृत विवरण दिइएको छ । उनले निर्माण सामाग्रीहरु बाहिरबाट आयात गरिने सम्झौतामा उल्लेख गराएका थिए । बालुवा, रोडा र सिमेन्टसमेत उतैबाट ल्याउने भनिएकोमा पछि पोखरा नजिकैका नदी र खानीबाट ल्याइएका बालुवा र रोडा प्रयोग गरिएको थियो ।

सोही बालुवा, सिमेन्ट र रोडा उताबाट ल्याइएको भन्दै भन्सार तिरेको नक्कली कागजातको आधारमा २ अर्ब २२ करोड ४० लाख १६ हजार २०२ रुपैयाँ भन्सार छुट लिइएको हो । सोही विषयमा महालेखामा हिजो छलफल भएको बताइएको छ ।

टिप्पणीहरू