त्रिवि उपकुलपति नियुक्ति प्रक्रियामा काँग्रेस महामन्त्रीको आपत्ति
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः गल्ती दोहोर्याएको आरोप लगाएका छन् ।
उनले राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी भएको तर प्रधानमन्त्री प्रचण्डले खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको आरोप लगाए ।
विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनका विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले भागबण्डाको आधारमा उपकुलपति नियुक्ति गर्न खोजेर पुनः गल्ती दोहोर्याएको महामन्त्री थापाको दावी छ । उनले भने, ‘अहिले नामहरु हतारहतार सिफारिस भएर जुन ठाउँमा ल्याइएको छ, यसबाट स्पष्ट के भयो भने जसरी योभन्दा पहिला दलहरुको बीचमा विश्वविद्यालयको भागबण्डा हुन्थ्यो । फेरि अहिले पनि यसलाई भागबण्डामा लगेर टुंग्याउने करिब निधोमा पुग्नुभयो ।’
प्रधानमन्त्री प्रचण्डलाई खुला प्रतिस्पर्धाबाट नै उपकुलपति चयन गरेको नाममा सबैलाई झुक्याएको जस्तो लागेपनि आफैँ झुक्किरहेको महामन्त्री थापाले बताए । प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने उनको तर्क छ । उनले थपे, ‘म नेतृत्व चयन ठीक ढंगले गर्छु भनेर अहिले पनि उहाँले नयाँ प्रक्रिया थालनी गर्न सक्नुहुन्छ । अझै राम्रा व्यक्तिलाई उपकुलपति बनाउन सक्नुहुन्छ ।’
तर शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले प्रधानमन्त्री तथा कुलपति प्रचण्डसमक्ष तीन जनाको नाम सिफारिस गरिसकेको छ । समितिले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको छ ।
सुरुमा उपकुलपतिको निम्ति ४३ जनाको उम्मेदवारी परेकोमा १४ जनाको सर्टलिष्ट भएको थियो । उनीहरुको प्रस्तुति र अन्तर्वार्ताको आधारमा मूल्यांकन गरेर तीन जनाको नाम सिफारिस भएको हो ।
टिप्पणीहरू