रहस्यमय तरिकाले मारिएकी आरतीको परिवार बालुवाटारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रहस्यमय तवरले ज्यान गुमाएकी आरतीकुमारी साहको परिवारसँग भेटवार्ता गर्नुभएको छ । छोरी मारिएकी पीडा सुनाउन आरतीका परिवार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् ।
स्वर्गीय आरतीको परिवारसँगै आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह पनि सँगै त्यहाँ गएका थिए । धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम उपमहानगरपालिका–९ बस्दै आएकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।
दाइजोको निहुँमा आफ्नी छोरीको हत्या गरिएको भन्दै माइतीपक्षले लामो समयदेखि माइतीघर र रत्नपार्कमा आन्दोलन गर्दै आएको छ । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दियो । गत पुस ९ गते जिल्ला प्रहरी कार्यालय, धनुषाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।
टिप्पणीहरू