प्रधानमन्त्रीले मन्त्री नहटाएकोमा केपी ओली क्रुद्ध

सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाउनुभएको छ । 

सरकारले गठन गरेको जाँचबुझ आयोगले बालकुमारी घटनामा संलग्नता ठहर गरिसक्दा पनि मन्त्रीले पद नछोडेको भन्दै ओलीले आपत्ति प्रकट गर्नुभएको हो । जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिएको भन्दै उहाँले मन्त्री ज्वालालाई 'नैतिकता हराएको मन्त्री' र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई 'हुत्तिहारा'को संज्ञासमेत दिनुभयो । 

पार्टी मुख्यालय च्यासलमा आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले दुईजना मानिसको ज्यान गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनैपनि हालतमा पदमा बसिरहन नमिल्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलाज पचाएको आरोप पनि लगाउनुभयो ।

'मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरी त्यहाँ मान्छे मर्ने स्थिति आयो । सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो तोकेर भनिएको छ', उहाँले भन्नुभयो, 'मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ । न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुति छ । नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री । लोकलाज पनि छैन यो गठबन्धनलाई । यस्तो अवस्थामा हामी छौं ।’

ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबीसमेत गर्नुभयो ।

टिप्पणीहरू