गगनको प्रस्तावले राष्ट्रियसभा अध्यक्ष गुम्ने चिन्ता, ओठमुख सुकेको नबिर्सन सुझाव
नेपाली कांग्रेसको महसमिति बैठकमा निर्वाचनअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको प्रस्तावको कडा आलोचना भएको छ । समूहगत छलफलका क्रममा अधिकांश नेताहरुले उक्त प्रस्तावको विपक्षमा धारणा राखेका छन् ।
बैठकमा प्रस्तुत पाँचवटा प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल चलिरहेको छ । छलफलमा सहभागी अधिकांश नेताहरुले गठबन्धन गर्ने या नगर्ने भन्ने रणनीतिक विषय भएकाले त्यसलाई नीतिगत बनाउन नहुनेमा जोड दिएका हुन् ।
केही नेताहरुले महामन्त्रीको प्रस्तावले राष्ट्रियसभा अध्यक्ष काँग्रेसले गुमाउने खतारासमेत औंल्याएका छन् । नेता उमेशजंग रायमाझीले वर्तमान गठबन्धनलाई गिजोल्ने गरी महामन्त्री थापाको प्रस्ताव आएको जनाउँदै यसले पार्टीको हित नगर्ने बताए । गठबन्धनमा विश्वासको संकट चर्काएर राष्ट्रियसभाको अध्यक्ष कांग्रेसले पाउने माहोललाई खलबल्याउने प्रयत्न गरिएको उनको भनाई छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति शेरबहादुर देउवाबीच कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने सहमति भैसकेको दावी गर्दै रायमाझीले आगामी निर्वाचनहरुमा गठबन्धन नगर्ने नीति महासमितिले पारित गरे परिस्थिति बिग्रने भन्दै त्यसतर्फ सचेत गराएका छन् ।
'यसले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसले पाउने माहोललाई खलबल्याउने प्रयत्न गरिरहेको छ', उनले प्रश्न गरे, 'के हामीले के अध्यक्ष नलिन चाहेको हो ?'
बैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच हिजो भएको भेटवार्तालाई लिएर पनि केही नेताहरुले चिन्ता जनाएका छन् । माओवादीलाई धेरै बिच्काए एमालेसँग मिल्नसक्ने भएकाले त्यसमा नेतृत्वले बिचार पुर्याउनुपर्नेमा उनीहरुको जोड छ ।
विगतमा एमाले र माओवादी मिल्दा संघ र सातै प्रदेशमा कांग्रेस सत्ताबाहिर हुनुपरेको र नेताहरुकोओठमुख सुकेको कुरा नभुल्न केही प्रतिनिधिले स्मरणसमेत गराए ।
टिप्पणीहरू