काँग्रेस बैठक सत्ता गठबन्धनको पक्ष र विपक्षमा विभाजित

काँग्रेस बैठक सत्ता गठबन्धनको पक्ष र विपक्षमा विभाजित

नेपाली काँग्रेसको महासमिति बैठकमा निर्वाचनअघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा प्रतिनिधिहरुको मत बाझिएको छ ।  

ललितपुरको गोदावरीमा जारी बैठकको तेस्रो दिन समूहगत छलफलका क्रममा प्रतिनिधिहरुले निर्वाचनपूर्वको गठबन्धनको पक्ष र विपक्षमा आफ्ना मत राखेका हुन् । महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै अब उप्रान्त निर्वाचनअघि गठबन्धन गर्नु नहुने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमाथि आज बोल्नेहरूले दुइथरी धारणा राखेकोमा बैठक बाहिर पनि त्यस्तै मत प्रकट भएको छ । 

महासमिति बैठकस्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतले अहिले गठवन्धनको सम्बन्धमा निर्णय गर्नु जरुरी नभएको बताए । गठबन्धन गर्ने नगर्ने तत्कालिन अवस्थामा भरपर्ने भएकाले यो विषयलाई रणनीतिक रुपले हेर्नुपर्नेमा उनको जोड छ । निर्वाचनमा एक्लै लड्ने मानसिकताका साथ काम गर्नुपर्ने तर अहिले नै गठबन्धनबारे नीतिगत तहमा निरं गर्न नहुने बस्नेतको धारणा छ ।

‘चुनाव एक्लै लड्नुपर्छ भन्ने मानसिकताका साथ संगठन गर्नुपर्छ । एक्लै लड्ने हो हामी भनेर तयारी गर्ने हो । तर लड्नुपर्दाखेरी काँग्रेसभन्दा बाहेकका सबै एकठाउँमा आउने भए भने त्यो बेलामा उनीहरुलाई फुटाउनका लागि काँग्रेस कसै न कसैसँग मिलेर गठबन्धनमा जाने परिस्थिति सिर्जना पनि हुनसक्छ’, उनले भने, ‘अहिलेदेखि नै गठवन्धन गर्ने भनेर हिँड्ने कुरा सम्भव छैन । र भोलि गठवन्धन गर्नुपर्ने आवश्यकता, बिरोधीहरु एक ठाउँमा उभिएर कमजोर पार्न खोजेभने त्यो बेलामा नयाँ रणनीतिका साथ अगाडी बढ्ने कुरा हो । कहिले कहिलेको चुनाव छ अहिले गठबन्धन गर्ने नगर्ने भनेर निर्णय गरेर हिँड्ने होइन ।’

त्यस्तै, नेता रामहरी खतिवडाले पनि अहिले गठबन्धनको विषयमा बोल्नु बेमौसमी बाजा भएको बताए । धेरै महासमिति सदस्यहरुले पनि त्यस्तै टिप्पणी गरेको उनले जानकारी दिए । देशको अर्थनीति जनतामैत्री हुनुपर्ने र लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएर पनि कुरा उठिरहेको खतिवडाले बताए । ‘अहिले गठबन्धनको बारेमा बोल्ने बेला छैन । बेमौसमको बाजा भयो यो भन्ने कुराहरु धेरै मात्रामा आएको देखिएको छ’, उनले भने । 

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले भने आगामी दिनमा गठवन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो रहेको बताए । पार्टी विधानअनुरुप नचलेको कुरालाई पनि बैठकमा प्राथमिकताका साथ उठाइएको उनले जानकारी दिए । उनले भने, ‘आगामी दिनमा गठबन्धन आवश्यक छैन भन्नेको संख्या ठूलो छ । पार्टी विधानतः चलेको छैन भन्ने कुरालाई पनि त्यत्तिकै प्राथमिकताका साथ राख्नुभएको छ ।’

सोमबारदेखि जारी काँग्रेस महासमिति बैठकमा पाँचवटा प्रतिवेदनमाथि छलफल चलिरहेको छ । बैठकमा सहभागीहरुलाई चार समुहमा विभाजन गरि बोल्नका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । तर, अधिकांश प्रतिनिधिले महामन्त्री थापाले राखेको चुनावपूर्व गठवन्धन गर्न नहुने प्रस्तावमाथि धारणा राखिरहेका छन् ।

टिप्पणीहरू