संसदलाई चार नेताको रबर स्ट्याम्प बनाइएको आरोप, जंगबहादुरको हालत हुने चेतावनी
जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रतिनिधिसभा शीर्ष चार नेताहरूको रबर स्ट्याम बनेको टिप्पणी गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै राज्यका अंगहरु असफलतातर्फ गैरहेको र देशमा चरम निराशा बढेको बताए । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पूर्णत: असफलतातिर गैरहेको राउतको भनाई छ ।
‘आज जतातिर जान्छु देशमा चरम निराशा व्याप्त भएको देख्छु । देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु । समग्रमा सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता देख्दैछु', उनले भने, 'व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको प्रतित भइरहेको छ । प्रतिनिधि सभाको कुरा गर्ने हो भने चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको छ । न्यायपालिकाबाट न्याय पाउने कुनै आशा नै गर्न नसक्ने अवस्था छ । संवैधानिक निकायहरु सरकारको निर्देशनमा जिहुजुर गर्ने मात्रै व्यस्त छन् ।'
राउतले गठवन्धनका नेताहरु सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै केन्द्रित रहेको आरोप पनि लगाएका छन् । उनले भने, 'म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतैपनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छेन । सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी बिरोधी र प्रतिष्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ ।'
जंगबहादुर राणाले रगतको आहालमा खेलेर राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेझैँ अहिलेको शासनबाट यो व्यवस्था ल्याउनेहरु नै त्रसित भैरहेको राउतले बताए । नेताहरु नसुध्रिए जंगबहादुरकै हालत हुने उनले चेतावनीसमेत दिए ।
'जसरी जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएका थिए र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो, त्यस्तै नै अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था छ', राउतले भने, 'दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि मेरो गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा छ । धोती लगाउँदा पनि षड्यन्त्र देख्छ । हामी सुध्रेनौँ भने जंगबहादुरकै हविगत हुनेछ ।’
टिप्पणीहरू