परराष्ट्रमन्त्री र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता
भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री एनपी साउद र भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
मन्त्री साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन हिजो नयाँ दिल्ली जानुभएको हो । उहाँले उक्त मञ्चलाई भोलि सम्बोधन गर्ने कार्यक्रम छ ।
सोही क्रममा मन्त्री साउदले भारतीय जनता पार्टीका नेताहरुसँग छलफल गर्नुभएको बताइएको छ । उहाँले भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँग प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणबारे पनि कुराकानी गर्ने बुझिएको छ ।
बहुपक्षीय मञ्च रायसिना संवादलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारतीय विदेश मन्त्रालयको सहकार्यमा वार्षिक रुपमा आयोजना गर्छ । हिजोदेखि शुरु भएको सम्मेलनमा ग्रीसका प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाइएको छ ।
विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरु, मन्त्रीहरू, पूर्वराष्ट्रपतिहरु, सैन्य प्रतिनिधिहरू, उद्योगी, प्राविधिक क्षेत्रक विज्ञ, शिक्षाविद्, पत्रकार, रणनीतिक मामिलाका विद्वानलगायतले भाग लिएका छन् । विश्वका एक सयभन्दा बढी देश सहभागी भएको जानकारी दिइएको छ ।
टिप्पणीहरू