एमाले बैठकमा फेरि पनि यौन काण्ड र चरित्रको चर्चा

एमाले बैठकमा फेरि पनि यौन काण्ड र चरित्रको चर्चा

प्रमुख प्रतिपक्षी दल एमालेको अस्तिदेखि शुरु भएको सातौं केन्द्रीय समिति बैठक आज समापन हुँदै छ । हिजो छ वटा समूहमा भएको छलफलको निश्कर्ष टोली नेताले सुनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह जवाफ दिएर बैठक औपचारिक रुपमा समापन हुने बताइएको छ ।

अस्तिको सम्बोधन क्रममा सदस्यहरुले मोबाइलमा ध्यान दिएर आफ्नो धारणा नसुनेपछि केहीबेर रातोपिरो अनुहार लगाउँदै उहाँले कडा चेतावनी दिनुभएको थियो । हिजोको समूहगत छलफलको क्रममा पनि उहाँ एकछिन च्यासल पुग्नुभयो ।

अस्तिको बैठकमा अनुपस्थित पोलिटब्युरो सदस्य महेश बस्नेत हिजो टुप्लुक्क पुगेका थिए । समूहगत छलफलमा भाग लिएर  सरासर बाहिर निस्किए । आफूमाथि सांघातिक हमला भएको जनाउँदै मुखभरि घाउ भएको अनुहार लिएर युवासंघकी मनोनीत केन्द्रीय सदस्य तथा बस्नेतलाई मेरो राजा भन्दै श्रीमतीको हैसियतमा फेसबुकतिर प्रस्तुत हुन र बेलुका जबर्जस्ती करणीको निवेदनसहित टेकू प्रहरीमा पुगेकी शोभा पाठक पनि हिजो च्यासलमा उजुर हाल्न पुगेकी थिइन्  ।

यता बस्नेतले समूह बैठकमा भाग लिँदै पार्टीभित्र अनुशासन समाप्त भएको,नेताहरु जवाफदेही नभएको धारणा राखेको बताइन्छ । उनको भनाई संक्षेपमा उल्लेख गर्दै एक जना पदाधिकारीले बताए, ‘चाइन्जो,पार्टी बिग्रियो, भत्कियो,त्यसैले सबैजना पारदर्शी हुनुपर्यो र जवाफदेही पनि । कमरेडहरु कमरेड जस्तो हुनुपर्यो । नैतिकवान हुनुपर्यो ।’

‘चाइन्जो, पार्टी बिग्रियो, भत्कियो, त्यसैले सबैजना पारदर्शी हुनुपर्यो र जवाफदेही पनि । कमरेडहरु कमरेड जस्तो हुनुपर्यो । नैतिकवान हुनुपर्यो ।’

बाहिर उनै बस्नेतमाथि चारित्रिक आरोप लगाउँदै उजुुरी बोकेर बसेकी शोभा पाठक र भित्र बस्नेतको धारणा सुन्ने समूहका नेताहरु प्रशस्तै थिए । एक जनाले भने, ‘आफ्नो कुरा सुने । ग्रुप छलफलमा भाग लिए अनि सुईंसुईं हिँडे ।’

बस्नेत हिँडे पनि सहभागी नेताहरुले नाम नलिई नैतिक रुपमा पार्टीलाई उँचो राख्नुपर्ने धारणा राखेका छन् । सबै समूहमा भएको छलफलमा पार्टी कमरेडहरुमाथि गम्भीर नैतिक बिचलन र यौनजन्य क्रियाकलापको बात लागेको छ । मिहिन ढंगले छानबिन र कारबाही गर्नुपर्ने आवाज उठेको छ । भनिएको छ, ‘पार्टी नेतृत्वले त्यस्ता कमरेडहरुसँग स्पष्टीकरण लिन लगाओस् । त्यसपछि छानबिन गरोस् । यस्तो गम्भीर विषय व्यक्तिको नभएर पार्टीको इज्जतसँग जोडिएको छ । यसमा गम्भीर ध्यान दिइयोस् ।’

हिजो उठाइका ती विषयलाई आज टोली नेताहरुले सटिक ढंगले प्रस्तुत गर्नुपर्ने छ । सबै केन्द्रीय सदस्यले उठाएका नैतिक र चारित्रिक विषयलाई टोली प्रमुखले जस्ताको त्यस्तै राख्नुपर्ने भनिएको छ । अन्यथा भएमा उनीहरुले पुनः भनाई राख्ने बुझिएको छ । एक जना केन्द्रीय सदस्यले भने, ‘टोली प्रमुखले चरित्रको बारेमा उठाइएका विषयमा दायाँबाँया गरे फ्लोरबाट कडा प्रतिवाद गर्छौं ।’

टिप्पणीहरू