बिहान माधवप्रति आक्रोशित एमाले अध्यक्षद्वारा साँझ मन्त्री ज्वालाको विरोध

बिहान माधवप्रति आक्रोशित एमाले अध्यक्षद्वारा साँझ मन्त्री ज्वालाको विरोध
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मन्त्रीलाई जोगाउन सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताउनुभएको छ । 

आज साँझ पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सो भनाइ राख्नुभएको हो । बालकुमारी घटनामा दोषी ठहर भइसक्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पद नछाडेको र उनलाई जोगाउन लोकतान्त्रिक पद्धति मिच्ने काम भएको अध्यक्ष ओलीको दावी छ । 

घटनाको छानबिन गर्न सरकारले नै गठन गरेको जाँचबुझ आयोगले मन्त्री ज्वालालाइ दोषी देखाएर प्रतिवेदन बुझाए पनि प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । दोषी ठहर हुँदापनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको ओलीको भनाई छ । 

‘मान्छे मरेका छन्, युवाहरु मरेका छन् । युवा मारिएको विषयमा प्रतिवेदनले भन्छ मन्त्री दोषी छ, पहिलो पटक दुनियाँको इतिहासमा यस्तो सुनिँदैछ, सायद यस्तो हुँदैन । लोकतन्त्र मान्ने प्रणालीमा यस्तो हुँदैन । मन्त्री दोषी छ जसले गर्दा युवा मारिए । आफैँले सरकारले बनाएको आयोगले तोकेको छ, दोषी मन्त्री छ । मन्त्री फुर्तिसाथ हिँड्छ । आत्मग्लानी छँदै छैन । न सरकारलाई, न मन्त्रीलाई’, उहाँले आक्रोशित हुँदै भन्नुभयो ।  

अध्यक्ष ओलीले मन्त्रीलाई कारबाही नगरेर प्रधानमन्त्री र सिङ्गै गठबन्धन निर्लज्ज भई बसेको आरोप पनि लगाउनुभयो । भन्नुभयो, ’प्रधानमन्त्रीलाई अफ्ठ्यारो भएको छैन । मन्त्रीले राजीनामा नगरे हटाउनु पर्दैन । मन्त्री निर्लज्ज भयो भने निर्लज्ज हुने, गठबन्धन नै निर्लज्ज हुने ।’

एउटा सानो दलको स्वार्थमा सिंगो देश अलोकतान्त्रिक भएको बताउँदै ओलीले एकीकृत समाजवादीमाथि कटाक्ष पनि गर्नुभयो । आज बिहान च्यासलमै आयोजित अर्को एक कार्यक्रममा पनि उहाँ एकीकृत समाजवादीका अध्यक्षमाथि खनिनुभएको थियो ।  

आफू नेतृत्वको तत्कालीन नेकपाको सरकार ढालेर दक्षिणपन्थीको पाउमा बुझाएको भन्दै उहाँले माधव नेपालसँग कहिल्यै पार्टी एकता नहुने घोषणासमेत गर्नुभएको थियो ।

टिप्पणीहरू