जिबी राईलाई ल्याउन के के छ जोखिम

जिबी राईलाई ल्याउन के के छ जोखिम
सुन्नुहोस्

सूचना छ, तर परिणामको सम्भावना नभएपछि त्यसले के गर्नु ? सहकारी ठगीको आरोप लागी फरार रहेका जिबी राईविरुद्ध प्रहरीले इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गरेको सन्दर्भमा यस्तो भएको हो ।

जिबी मलेसियामा छन् भन्ने सूचना नेपाल प्रहरीसँग छ । त्यस आधारमा पक्राउका निम्ति पहल गरिएको र मलेसिया प्रहरीले मागेका डकुमेण्ट दिइएको स्रोतले जनाएको छ । रेडकर्नर नोटिस भए पनि कुनै डकुमेण्टबिना त्यहाँको प्रहरीले कसैलाई पक्राउ गर्दैन । त्यसमाथि यसअघि मलेसियाले विभिन्न कसुरमा संलग्न रही इन्टरपोलमार्फत नेपाललाई बुझाउन भनिएका घटनामा आनाकानी गरेका प्रशस्तै उदाहरण छन् । जिबीको हकमा भने सिआइबी र त्यहाँका प्रहरीबीच निरन्तर सम्पर्क रहेको बताइन्छ ।

जिबीबारे प्रहरीले सूचना संकलन गरेको चाल पाएपछि उनी त्यहाँबाट इण्डोनेसिया जाने सम्भावना छ । ललितपुरस्थित प्रिमियर स्कूलमा अध्ययनरत छोरालाई केही समय पहिलो मलेसिया लगेका थिए । तर, आफू अप्ठेरोमा परेको बेला छोरालाई साथमै राख्दा समस्या होला भनी फर्काइदिए । रवि लामिछानेले उनलाई मलेसियामा भेट्न गएको त्यही बेला हो । एनसेलको शेयर बिक्रि प्रकरणमा सोधपुछ गर्न नेपालको संसदीय समितिले मलेसियास्थित आजिएटा कम्पनीलाई पत्राचार गरेको थियो ।

मलेसियाले बयानका निम्ति टोली पठाउनुको सट्टा नेपालको तर्फबाट भएको कच्चा काम, अर्थात् उक्त पत्र हेर्दै हाँस्ने काममात्रै भयो । त्यसमाथि आपराधिक घटनामा संलग्न विदेशीलाई पक्राउ गर्ने र बुझाउने कुरामा मलेसियाले सहयोग गर्ला भन्नेमा केही प्रहरी अनुसन्धानकर्मीले कमै विश्वास लिएका छन् । किनभने, मलेसियाले यस्तो कुरामा सहयोग गरेका घटना विरलै छन् । बरु, कतारले खोजिएका मानिसहरु धमाधम समातेर पठाइरहेको छ । भर्खरै इन्टरपोलमार्फत एक व्यक्तिलाई ल्याएर कारवाही भइरहेको छ । तर, कानुनी झमेलाका कारण कारण नेपालले भने कतारबाट मागिएका अपराधी दिन सकिरहेको छैन । 

 उता, अर्का ‘ठूला माछा’ भरत महर्जन बेलायतमा छन् । उनीविरुद्ध पनि रेड कर्नर नोटिस जारी गरिएको छ । अर्कातिर, चौधरी गु्रपले गैरकानुनी रुपमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कब्जा गरेजस्तै विशाल ग्रुपको कब्जामा रहेको नक्सालस्थित बालमन्दिरको २८ रोपनी जमिनसम्बन्धी छानवीनका निम्ति प्रहरी गुहार्ने काम भएको छ । उक्त जमिन बृहस्पति विद्या सदनलाई अगाडि सार्दै विशाल ग्रुपले ६० वर्षका निम्ति भाडामा लिएको छ । पुरुषोत्तमराज जोशीले स्थापना गरेको सो स्कूलमा अहिले विशाल ग्रुपका सदस्यहरुको हालिमुहाली छ ।

स्कूलमा पुरुषोत्तम आफ्नै २५ लाख ८० हजार, छोरा प्रवीणको १ करोड ८७ लाख १० हजार र प्रज्वलको १ करोड ३१ लाख १० हजार मूल्य बराबरको शेयर छ । तर, विशाल अग्रवालको २ करोड ३६ लाख ७५ हजारसहित अर्पित, निकुञ्ज, अनुजहरुको नाममा १ देखि ३ करोडभन्दा बढी मूल्यबराबरको शेयर छ । अहिले मुद्दा चलाउने र ‘मामिला मिलाइदिने’ गिरोहको सल्बलाहट चलिरहेको प्रहरीस्रोतले जनाएको छ । 

यसबीच बाँसबारी जग्गा प्रकरणमा बयानका निम्ति उद्योगपति सांसद विनोद चौधरीलाई सिआइबीले बोलाउने भएको छ । अनुसन्धानका क्रममा विभिन्न कागजहरु खडा गर्नुपर्ने अवस्था छ । 
 

टिप्पणीहरू