टेरामक्स घोटालाबारे सोध्दा मन्त्रीले गरे पत्रकारलाई हप्कीदप्की

टेरामक्स खरिदमा घोटाला गरेको आरोप लागेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले यसै विषयलाई लिएर पत्रकारलाई हप्कीदप्की गरेका छन् । 

प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सो प्रकरणबारे जिज्ञासा राख्दा उनी पत्रकारसँग आक्रोशित भएका हुन् । पत्रकारहरुले यस प्रकरणमा मुछिएकाले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो को हैन ? भनेर सामान्य जिज्ञासा राखेका थिए । जवाफमा बस्नेतले कसैले रिस उठेर उजुरी गरेकै आधारमा प्रमाणित नभईकन राजीनामा नदिने मात्र बताएनन्, 'तपाईं कहाँको पत्रकार हो ? भन्दै आक्रोश व्यक्त गरे । 

एमालेले संसदमा आफ्नो राजीनामा मागेर ‘पुंग न पुच्छर’को कुरा गरेको उनको प्रतिक्रिया छ । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको खरिद प्रक्रिया अघि बढाउन सहमति दिएको पनि बताए । 

यो प्रकरणमा मन्त्री बस्नेतमाथि  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछसमेत गरेको थियो । उनले आफू निर्दोष रहेको र प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन् । 

मन्त्री बस्नेतको भनाई जस्ताको त्यस्तै 

हामीले हेर्दाखेरी पुंग न पुच्छरका कुरा लिएर हिँडेका छन् । उजुर गर्न आफैं हिँड्छन् । अनि, त्यहाँ बोल्न आफैँ हिँड्छन् । अनि आफूले भनेको सबै ठिक हो भन्छन् । होइन भने बेठिक हो भन्छन् । देखिरहनुभएको छ नि तपाईहरुले । सामान्य नैतिकता देखाएनन भन्नेकुरा छ मन्त्रीहरुले । के हो नैतिकता ? सुन्नुस्, यो देशमा कानून छ । ऐन छ । कसैले कसैलाई उजुरी गर्यो भन्दैमा, रिस उठेर उजुरी गर्यो भन्दैमा प्रमाणित केही पनि नभईकन के हुन्छ नैतिकता तपाईले सिकाउनु पर्छ ? तपाईलाई यति पनि थाहा रहनेछ । तपाई कहाँको पत्रकार ? कान्तिपुरले के लेखिराखेको छ ? कान्तिपुरले खाली टेरामक्सको वकालत गरिराखेको छ । 

म प्रतिप्रश्न सोध्न चाहन्छु–संसारभरी टेरामक्स लागू भएको छ । कलवाईपास गरेर गर्ने घोटालाको बारेमा सारा देशमा नियन्त्रण भएको छ । यो देशमा मात्रै किन नियन्त्रण भएको छैन ? तपाईहरुले लिडिङ रोल गरिरहनुभएको छ एनसेललाई ढाकछोप गर्नका लागि । उसको फण्डाबाज हो यो ? पहिला सुन्नुस तपाई । यो विषयमा सिआईबीले समेत यति पैसा घोटाला गरेको छ भनेर प्रतिवेदन पेश गरेको छ । नेपालमा हरेक वर्ष कोभिडको एक वर्ष बाहेक उसको ग्राहक बढिराखेको छ । आम्दानी घटिराखेको छ । हुुँदाहुँदा कसरी अन्तिम गएर नामसारी गरेको हो, त्यो पनि थाहा छ । तपाईहरु यसको पक्षमा वकालत गरेर बसिरहनुभएको छ । 

सुन्नुस्, राष्ट्रमा ठगी गर्ने कुरामा जुनबेलासम्म कलवाईबास गरेर खाने कुरामा राज्यले नियन्त्रण गर्दैन । म सञ्चारमन्त्री भएर आउँदा रुवेल चौधरीलगायत धेरै मान्छेलाई थुनेर कारबाही गरेको अवस्था थियो । र त्यसलाई नियन्त्रण गर्नुपर्छ, राजश्व उठाउनु पर्छ भनेर भन्ने कुरामा मैले आफ्नो कुरा अगाडि सारिदिएको हो । सहमति दिएको हो । अनि त्यसपछि आएर के कुरा प्रमाण पुर्याएर चाहीँ अगाडि बढाएको छ ? तपाईलाई नेपालको कानूनमा कसैलाई दोषी करार गर्नका लागि भनिदिएमात्रै पुग्छ कि हुनुपर्छ ? त्यसकारण भनिएको अवस्था हो । तपाई जहाँ गएपनि कान्तिपुरले अहिले सुन्नुस्न । दोषी देखियो भने राजीनामा गर्नुपर्छ । अरु कानूनी कारबाही भोग्नुपर्छ । सजाय अदालतले तोक्ने हो, मलाई सोध्ने हो ? तपाईलाई यदि याद छ भने धनगढीमा पत्रकार सम्मेलन गरेर मैले आफ्ना कुरा सबै राखेको छु । मैले सबै कुरा भनिदिएको छु । त्यसैले एउटै कुरा दश पटक भन्नुपर्छ भन्ने जरुरी छैन । 

तपाईलाई पो न्युज छैन र कान्तिपुर, कान्तिपुर भन्या छ । बिहानदेखि बेलुकासम्म एनसेललाई संरक्षण गर्ने न्युज लेखेर बस्नुभएको छ तपाईहरु । वर्षको २० अर्वभन्दा बढि घोटाला गरेको छ भन्ने प्रमाणित भएको छ । अव त्यो घोटाला भएको के गर्दो हो त ? सिआईवीको रिपोर्टमा पनि अर्बौं घोटाला भएको देखाएको छ । अनि, संसारभरी सबै ठाउँमा नाफा हुने, नेपालमा मात्रै नोक्सान हुने । अनि यदि टेरामक्स चाहीँ यो कलबाईपास गरेर खानेहरुको बिरुद्धमा आएको नीति होइन भनेर उल्टयाउने हो भने यो नियन्त्रण गर्ने विधि चाहीँ के हो ? 

सुन्नुस्, म मन्त्री हुँ । मैले बोल्ने मौका पाउँदा म बोल्छु । सुन्नुस्, लामा गफ नगर्नुस् तपाईहरु । मैले यो विषयमा तपाईजस्तै ५५ जना पत्रकारको अगाडि बोलेको छु । घरघरमा आएर म कहाँ दिन्छु ? यसमा मेरो गल्ती छैन । मेरो गल्ती छैन । राष्ट्रको लागि लडेको हुँ । उजुरी हालेका छन् । कसले हाल्न लगाएको हो ? म त्यो पनि भनौला ।’

टिप्पणीहरू