मीटरब्याज पीडितका नाममा खेल नखेल्न गृहमन्त्रीको आग्रह

सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साढे पाँच हजार मीटरब्याज पीडतहरुलाई न्याय दिने काममा सरकार लागि परेको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सो भनाई राख्नुभएको हो । मीटरब्याजलाई सामन्तवादको शोषणको निकृष्ट अभिव्यक्तिको संज्ञा दिनुभएका गृहमन्त्री श्रेष्ठले ठूलो मेहनतले मात्र यसको समाधान दिन सकिने पनि बताउनुभयो । 

'अहिले साढे पाँच हजार जति मीटरब्याजी पीडितहरुलाई न्याय दिने काम भइराखेको छ । तर के बुझ्नुपर्छ भने यो सामन्तवादको शोषणको अत्यन्त निकृष्ट अभिव्यक्ति हो र यो हामीले ठूलो मेहनत गरेर मात्रै यसलाई समाधान गर्न सकिन्छ । त्यसको निम्ति अहिले हामीसँग कानून छ', उहाँले भन्नुभयो ।

तत्कालिन आयोगमा आएका उजुरीहरुलाई क्याविनेटले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी गराउँदै मन्त्री श्रेष्ठले मेलमिलाप र मुद्दा दुबै प्रक्रियाबाट पीडितलाई न्याय दिलाउने अठोटसमेत गर्नुभएको छ । प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने तर, त्यो सम्भव नहुँदा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उहाँको भनाई छ । 

'सबै उजुरीहरुलाई हामीले सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ । जिल्ला प्रहरी कार्यालयले अब स्वेच्छिक मेलमिलापको निम्ति अपील गर्छ । पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ', गृहमन्त्री श्रेष्ठले भन्नुभयो, 'त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ ।  यो प्रक्रियामा हामी छौँ । त्यसकारण पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौँ ।'

पीडितलाई न्याय दिलाउन सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले त्यसैका नाममा खेल नखेल्न आग्रहसमेत गर्नुभयो ।

'म सबैलाई अपील गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौँ । हर हालतमा पीडितलाई मुक्त गर्ने दिशातिर रहौँ । पीडितका नाममा खेल खेल्ने काम नगरौँ ।'

टिप्पणीहरू