उपसभामुख इन्दिरालाई भीसा दिन मानेन बेलायतले
नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ ।
एनआरएनए युकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लण्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भीसा’ का कारण अन्तिम समयमा स्थगित भएको हो।
पूर्व निर्धारित कार्यक्रमअनुसार रानामगर बेलायतमा एक साता रहने योजना थियो । उनको बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे,उपसभामुख लगायत नेतासँग भेटघाट तय थियो ।
७ जना बेलायती सांसदले ननिङटनमा च्यारिटी डिनर र विभिन्न संघसंस्थाले अन्तरक्रिया गर्नेसमेत जनाएका थिए ।
उपसभामुख रानामगर एनआरएनए युकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो।
त्यस्तै, मार्च ५ तारिख मंगलबार एनआरएनए युकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकतासम्बन्धी मुद्धा’ मा एक अन्तरक्रिया तय थियो ।
एनआरएनए युकेको यौटा खेमाका अध्यक्ष प्रेम गाहामगरले उपसभामुखको अनुपस्थिति रहे पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्दाको अन्तरक्रिया स्थगित गरिएको बताए ।
टिप्पणीहरू