प्रधानमन्त्री खोज्ने सुर्य थापालाई कांग्रेस सांसदको कटाक्ष

सुन्नुहोस्

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री र मन्त्रीहरु हराएको भन्दै संसदमा खोजी गरेको छ । 

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री र मन्त्रीहरु संसदप्रति उत्तरदायी बन्न नसकेको बताएका हुन् । त्यसक्रममा उनले भरतपुर पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै 'छोरीको नगरपालिका' मा गएको बताए। 

'प्रधानमन्त्रीज्यू छोरीको नगरपालिकातिर कता हुनुहुन्छ भन्ने हामीले सञ्चारमाध्यमबाट सुनेका छौँ । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । मन्त्रीहरुको खोजी गर्नुपर्यो', थापाले भने, 'सरकार हरायो । प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्री खोजी गर्नका निम्ति यो संसदले एउटा उच्चस्तरीय  समिति बनाउनुपर्ने हो कि ? संसद स्थगित गर्नुपर्ने हो कि ? कतिदिन समय चाहिने हो ?'

प्रधानमन्त्रीमाथि कटाक्ष गर्ने थापालाई सत्तापक्षका सांसदले त्यसैगरी जवाफ दिएका छन् । कांग्रेस सांसद रामहरि खतिवडाले नेपालमा 'छोरी नगरपालिका' कतै नभएको जवाफ दिएका हुन् । 

‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो । तर, छोरी नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दो रहेछ । म सभामुख महोदयमार्फत भन्ने मान्य सदस्यलाई अनुरोध गर्न चाहान्छु, नयाँ नामाकरण भएछ, यो नेपालको कुन नगरपालिका रहेछ ? जानकारी पाए म खुसी हुने थिएँ’, उनले भने।
 

टिप्पणीहरू